प्रकृति र पर्यावरण संरक्षणका लागि गण्डकी प्रदेशमा क्रियाशील हिल हिमालयज संस्थाको शीर्ष गीति भिडिओ ‘हामी मान्छे’ सार्वजनिक भएको छ । संस्थाकै युट्युब च्यानल ‘हिल हिमालयज’ बाट उक्त गीति भिडिओ सार्वजनिक गरिएको हो ।
गीतमा संस्थाका सफाइ अभियन्ता आर्सन क्षेत्रीको शब्द तथा आवाज छ । साइमन तझ्याले संगीत भर्नुभएको सो गीति भिडिओको निर्माण लेबल नेक्स्टले गरेको हो । कृष्णराज गुरुङले भिडिओको सम्पादन गर्नुभएको छ । प्रकृति र पर्यावरण संरक्षणका लागि योगदान दिने उद्देश्यका साथ गीति भिडियो तयार गरिएको हिल हिमालयजका अध्यक्ष रोशन गुरुङ बताउनुभयो । प्रकृति सफाइको अभियानलाई जारी राख्न सयौँ अभियन्ताले पु¥याएको सहयोग र दाताको हौसला आफूहरूका लागि प्रेरणाको जग भएको बताउँदै उहाँले गीत सङ्गीतमार्फत पनि वातावरण संरक्षणमा सचेतना पुग्ने विश्वास लिइएको बताउनुभयो ।
संस्थाले हालसम्म २८ औँ सफाई श्रृंखला सम्पन्न गरिसकेको छ । जसबाट ४१ हजार केजी बढी फोहर सङ्कलन गरी पोखरा महानगरको डम्पिङ साइटमा व्यवस्थापन भएको संस्थाका सदस्य विश्वास गुरुङले जानकारी दिनुभयो । गीति भिडियोको एक कार्यक्रमकाबीच सोमबार सार्वजनिक गर्दै गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले प्रकृतिलाई पुनर्जीवन दिने उद्देश्यले थालिएको युवाहरूको सत्कर्मले नयाँ सन्देश दिएको बताउनुभयो ।
पोखरा जुओलोजिक पार्कका संयोजक हिमालय बख्रेल, रोनित गुरुङलगायतले प्रकृति संरक्षणको अभियानमा लागेका युवाहरुले समाजलाई नै प्रेरणामूलक सञ्चार प्रवाह गरेको बताउनुभयो । संस्थाको साप्ताहिक सफाइ अभियानलाई हौसला प्रदान गर्दै कुशुम कृष्ण आयुर्वेदका सञ्चालक कृष्णबहादुर राउतले नगद पाँच हजार सहयोग र केही फेस माक्स सहयोग गर्नुभएको थियो ।