मनाङ : हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मंसिर ११ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
सल्लोको जंगल, सुकेका पातपतिंगर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ। हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताए।
अर्का स्थानीय तथा यस क्षेत्रका सिएमसीका अध्यक्ष याद घलेले हिमाली क्षेत्रको जंगलमा लामो समयदेखि लागेको आगोबाट महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप भएको बताए।
आगलागी भएको क्षेत्र जंगलमा थार, घोरल, कस्तुरी, मृग, हिउँचितुवा जस्ता वन्यजन्तु र पाँचऔँले, निरमसी, कुट्की, पदमचाल, यार्सागुम्बालगायत जडीबुटी पाउने गरिन्छ।
आगलागी फैलँदै जाँदा नजीकैको ताचै गाउँ जोखिममा परेको छ। ताचैमा ६० घरपरिवारको बसोबास रहँदै आएको छ। डेढ महिनामा मात्र प्रशासनको उपस्थिति देखिएको छ।
स्थानीयवासीले हारगुहार गर्दासमेत प्रशासनले नसुनेको बताउँछन्। सोमबार मात्र प्रजिअ, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र एक्यापका प्रतिनिधि आगलागी भएको क्षेत्रमा पुगेको छ।
स्रोतसाधन अभाव
स्रोतसाधन अभाव र भौगोलिक विकटताले आगो नियन्त्रणमा चुनौती थपिएको छ। स्थानीयवासी र सुुरक्षा निकायले स्याउलाको प्रयोग गरेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। यसबाहेक सुरक्षा निकायसँग रहेको सामान्य साधनबाहेक अरू केही छैनन्। जसले आगो नियन्त्रणमा चुनौती थपेको छ।
किन हुन्छ आगलागी?
आगलागीका कारण महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप हुने अवस्था आउँदा जैविक विविधतालाई समेत असर पर्ने देखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का जिल्ला प्रमुख लेखनाथ गौतमले आगलागीबाट जैविक विविधतामा गम्भीर असर पुर्याउने बताए।
‘हिमाली क्षेत्रमा लामो समयसम्म लागेको आगोले वनस्पति र वन्यजन्तु लोप हुन्छन्। यसले जैविक विविधतालाई असर पार्छ उनको भनाइ छ। हिमाली जंगलमा आगलागी हुनुमा जंगली जनावरको चोरीशिकारी, गुच्चीच्याउर नयाँ घाँसका लागि आगलागी हुने गर्छ।