आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछि जनतामाझ जाने निर्णय भयो : पद्मा अर्याल

आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछि जनतामाझ जाने निर्णय भयो : पद्मा अर्याल

स्याङ्जा : कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले ५ वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय गरेको बताउनुभएको छ ।

गृहजिल्ला स्याङ्जाका विभिन्न स्थानहरुमा आयोजना गरिएको नेकपाको सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका पदलोलुप नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको उहाँले बताउनुभयो ।

जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत उहाँले बताउनुभयो । ‘पार्टी एकता भएपछि विचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो । विचारबाट निर्देशित भएको पार्टी पद, पावरमा गएर अल्झियो’, मन्त्री अर्यालले भन्नुभयो, ‘पद लोलुपहरुले चारैतिरबाट घेराबन्दी गरेर बस्नखानै नदिएपछि प्रधानमन्त्री ज्यूले जनताको अदालतमा जाने निर्णय गर्नुपऱ्यो । जनताको अदालतमा जाने उक्त निर्णय लोकतान्त्रिक विधि हो ।’

आम जनताले आशा भरोसा र विश्वास गरेको सबै भन्दा ठूलो पार्टी नेकपाभित्रैका ठूला नेताहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउने सम्मको तयारी गरी हस्ताक्षर गरेका कारण प्रतिनिधि सभाको विघटन गर्नुपर्ने स्थितिको सिर्जना भएको मन्त्री अर्यालले बताउनुभयो।

‘राष्ट्रपतिलाई महाअभियोग लगाउने गरी सांसदहरुको हस्ताक्षर संकलन गरियो । यस्तो विचित्रको दृश्य आफ्नै पार्टीभित्र देख्नुपऱ्यो । त्यसैले बाध्य भएर प्रधानमन्त्री ज्यूले यस्तो कदम चाल्नुभएको हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘चारैतिर घेरेर ढोका थुनेर सास थुन्न थालेपछि मुसा पनि बाहिर आउन खोज्छ । जनताले ५ वर्षका निम्ती जनताले मत दिएका थिए । तर प्रधानमन्त्री ज्यूलाई बस्नखानै नदिएपछि । सरकारलाई काम गर्नै नदिएपछि यस्तो कदम चाल्नुपऱ्यो ।’

सरकारले राष्ट्रिय एकता कायम गर्दै विगतमा विभिन्न कारणले गुमेको नेपालको जमिन फिर्ता लिने कार्य अगाडी बढाएपछि आफ्नै पार्टी नेतृृत्वको सरकार असफल बनाउन आफ्नै पार्टीबाट योजना बनेको समेत मन्त्री अर्यालले बताउनुभयो । विश्व जनसमुदायमै चर्चाको विषय बन्नेगरी नेपालले पहिलोपटक आफ्नै लगानी, स्रोतसाधन र जनशक्तिमा सगरमाथाको उचाई मापन गरेपनी त्यसलाई आफ्नै देशमा गलत रुपमा ब्याख्या गर्ने गरिएको समेत उहाँले बताउनुभयो ।

यसैबीच मन्त्री अर्यालले सत्तारुढ दल नेकपा विभाजनका सन्दर्भमा अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताउनुभयो । सत्तारुढ नेकपा विभाजन भएर दुईवटा समूह बनेपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताउनुभयो ।

सम्बन्धित खवर