मोरङ, मोरङको पथरी शनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन पब्लिक लिमिटेडको प्रथम साधारणसभाबाट अशोक साम्पाङ राईको नेतृत्वमा नयाँ समिति चयन भएको छ ।
शनिबार भएको साधारणसभामा अध्यक्षमा अशोक साम्पाङ, सचिव रोहित बास्तोला, सदस्यहरुमा रीता गिरी, चन्द्रकला गुरुङ, नवीन तुम्बापो, गणेश बाछाना, प्रलाद चौहानको नाम सार्वजनिक गरिएको छ । कम्पनीमा हरियाली समुदायिक वन उपभोक्ता समितिको बैठकले अध्यक्ष सहित ६ जना पठाउने, नगरपालिका र अन्य क्षेत्रबाट तीन जना मनोनित गर्ने विधानमा व्यवस्था छ ।
पथरी शनिश्चरे नगरमा स्थापित हरियाली सामुदायिक वन समूहमा पर्यटन क्षेत्रको विकास गर्ने हेतुले पब्लिक कम्पनी सुरु भएको हो । वनकै उपभोक्ताहरुको आर्थिक विकास हुने उद्देश्यले कम्पनी स्थापना भएको लिमिटेडका नेतृत्वकर्ताहरुले बताउदै आएका छन् ।
पर्यटन क्षेत्र विकासको लागि २० करोडको शेयर आह्वान भएको थियो । जसमध्ये पहिलो किस्तामा ८ सय २६ जना शेयर सदस्यहरुबाट एक करोड जम्मा भइसकेको छ । कम्पनीको पहिलो साधारण सभालाई पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारी, हरियाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष काबुलबहादुर मगर लगायतले शुभकामना राखे ।
कम्पनीको संस्थापक अध्यक्ष देविप्रसाद भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन छलफलपछि पास भएको छ ।