काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले हालको परिस्थितिलाई मनन र विष्लेषण गरी कार्य योजना बनाई अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
हालको सुरक्षा चुनौति व्यवस्थापन, तस्करी तथा गुन्डागर्दी नियन्त्रण र नेपाल सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहमा हालै सरुवा भई जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकहरुलाई निर्देशन दिंदै उहाँले हालै संगठनले लागू गरेको नेपाल प्रहरी कार्य योजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता लगायतका नीति निर्देशनलाई अक्षरस पालना गरी लागू गर्नुपर्ने बताउनुभयो ।
सेवाग्राहीले देख्ने र भोग्ने गरी प्रहरी कार्यमा सकारात्मक परिवर्तन आएमा तपाईको उपस्थिति सार्थक हुने हुनाले सबैले आफ्नो कर्तव्य र संगठनले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यालय व्यवस्थापन, साधन स्रोतको उचित परिचालन र मर्मत सम्भार लगायत दैनिक क्रियाकलापमा विशेष ध्यान दिई चुस्तदुरुस्त रुपमा प्रस्तुत हुन समेत उहाँले निर्देशन दिनुभयो ।
प्रहरी प्रधान कार्यालयले यही पुस २१ गते ३० जना प्रहरी उपरीक्षकहरु र ६९ जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको थियो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।