पथरी, मोरङको पथरी शनिश्चरे १० का संजिव भण्डारीको मृत्य प्रकरणको प्रारम्भिक रिपोर्ट आएको छ ।
फाइनल रिपोर्ट भिसेरा परीक्षणको रिपोर्ट आएपछि मात्रै आउने इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो । गिरीले भन्नुभयो ‘‘प्ररम्भिक रिपोर्टमा भण्डारीको टाउकोमा देब्रेपटिको भागबाट दिमाग (ब्रेन) मा जाने नसा फुलेर फुटेको अवस्था रहेको रिपोर्ट आएको छ । पोस्टमार्टमा खटिएका डाक्टरका अनुसार यो दुईवटा कारणले हुने बताइएको छ । यस्तो हुनुमा तत्काल हुने हाइपर टेन्सनका कारणले हुन्छ । भण्डारीको रिपोर्ट अनुसार त्यस्तो कुनैपनि बस्तुले प्रहार गरेको चोट पटक पाइएको छैन् । प्रारम्भिक रुपमा हेर्दा हाइपर टेन्सन नै हो की भन्ने पाइएको छ ।’’ यसरी नसा फुटेको अवस्थामा तत्काल अस्पताल पु¥याउन सकिएन भने मानिस बचाउन नसकिने कुरा पनि डाक्टरले बताएको कुरा गिरीले जानकारी दिनुभयो ।
हाल पेन्डिङमा नै रहेको रिपोर्ट भिसेरा परीक्षण पछि मात्रै आइपुग्ने गिरीको भनाइ छ । भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको गिरीले जानकारी दिनुभयो । भिसेरा पछि खानामा कुनै अखाद्य बस्तु, बिस सेवन लागएतका केही भएमा त्यो पनि आउने छ ।
भण्डारीले प्रयोग गरेको मोबाइल सेट पनि परीक्षणका लागि ल्याबमा पठाइएको गिरीको भनाइ छ । अदालतको अनुमति पछि भण्डारीको कल डिटेल समेत पठाइसकिएको गिरीले जानकारी दिनुभयो । यस विषयमा हिजो नै परिवारका सदस्यहरुलाई समेत हालसम्म आएको यथार्थ जानकारी दिइएको र अब केही दिनमा नै भण्डारीको पूर्ण रिपोर्ट प्राप्त हुने गिरीले जानकारी दिनुभयो ।
१९ वर्षीय भण्डारीको शब सोही वडाका युवराज बास्कोटाको घरमा पुस १४ गते बिहान फेला परेको थियो । राम्रो सम्बन्ध भएका कारण लामो समयदेखि आउने जाने गर्ने भण्डारी केही समय देखि बास्कोटाकै घरमा बस्दै आएका थिए । बेलुका खाना खाएर सुतेका भण्डारी बिहान मृत फेला परेका हुन् । यस विषयमा बास्कोटा र भण्डारी दुवै पक्षले चाँडो छानविन गरी सत्य तथ्य कुरा बाहिर ल्याउन माग गरिरहेका छन् ।