बेलबारीमा ओली पक्षको महिला भेला, हजारौंको उपस्थिति

बेलबारीमा ओली पक्षको महिला भेला, हजारौंको उपस्थिति

भूमिप्रसाद पाठक, पथरी

मोरङको बेलबारीमा नेकपा संस्थापन (ओली) पक्षले वृहत् महिला भेलाको आयोजना गरेको छ।

नेपाल सरकारकी भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिबमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रम अखिल नेपाल महिला संघ मोरङ जिल्ला कमिटीको आयोजनामा भएको हो।

बेलबारी नगरपालिकाको सांस्कृतिक भवनमा आयोजना भएको कार्यक्रममा मोरङ जिल्लाका विभिन्न गाउँपालिका नगरपालिकाबाट हजारौंको सङ्ख्यामा नेकपाका नेता, कार्यकर्ता, जनप्रतिनिधि र अगुवा महिलाहरुको उपस्थिति रहेको थियो। सभाहलको क्षमताभन्दा बढी सङ्ख्यामा सहभागी उपस्थित भएको कारण स्थानीय आयोजकलाई व्यवस्थापनमा हम्मेहम्मे परेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाम्फेले मुलुकले विकास र समृद्दिको क्षेत्रमा ठूलो फड्को मार्दै गरेको सन्दर्भमा सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओलीलाई काम गर्न नदिई चौतर्फी घेराबन्दी गर्ने एउटा झुन्डले संसद विघटन गर्नु बाध्य बनाएको बताइन् । मन्त्री तुम्बाहाफेले अब मुलुकले विकासको गति लिने कुरामा सबै विश्वस्त हुन पनि सचेत गराइन् । उनले सरकार र मन्त्रालय सुकुम्बासी समस्या समाधानका लागि सचेत भएर लागेकोले अबको केही महिनाभित्रै सुकुम्बासीले हातहातमा पूर्जा पाउने बताइन्।

नेकपा केन्द्रीय कमिटी सदस्य ऋषिकेश पोख्रेलले प्रचण्ड र माधवहरु जनता मुलुकको हितभन्दा पद लोलुपतामा अल्झिएर प्रधानमन्त्री केपि शर्मा ओलीलाई काम गर्न असहयोग र घेराबन्दी गरेकै कारण संसद विघटन गर्न बाध्य हुनुपरेको बताए । सडकमा उहाँहरुको विचार शून्य अभिव्यक्ति जनताले सुन्न नचाहेको बताउँदै ओलि सरकारले बनाएको सडकमाथि उभिएर नारा लगाउँदै काम गरेन भन्दै प्रधानमन्त्री ओलिको विरोध गर्नु लज्जास्पद भएको पोख्रेलले बताए।

पार्टी केन्द्रीय कमिटी सदस्य गङ्गा डाँगीले प्रचण्ड माधव समूहको अवसर र स्वार्थ बाहेक कुनै राजनैतिक एजेन्डा नभएकै कारण महिला हिंसामा उत्रेको र निर्दोष विधवा महिलाको सिन्दुर र महिलाका अङ्गहरु फलाक्दै हिड्ने अधिकार प्रचण्ड, माधव, झलनाथ र भीम रावल कसैलाई नभएको बताइन्।

कार्यक्रम अनेनसंङ्घ जिल्ला कमिटी उपाध्यक्ष सरस्वती खरेलको सभापतित्वमा सप्पन्न भएको थियो।

सम्बन्धित खवर