संसद विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनको घोषणा

संसद विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनको घोषणा

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो । केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

त्यस्तै, माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ । कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।

त्यसैगरी बैठकले २०७५ कार्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरुको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको छ ।

बैठकले क्रियाशील सदस्यता विवरण २०७७ माघ मशान्तसम्म गरिसक्ने मिति तय पनि गरेको प्रवक्ता शर्माले बताए । आज बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावहरु पेश गरेका थिए । बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद सिटौला र जीवन बहादुर शाहीले आफ्नो धारणा राखेका थिए ।

कोरोना संक्रमणबाट मुक्त भएपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि आजको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए । बैठकमा उनले प्रतिनिधिसध पुनस्र्थापना र निर्वाचन पनि नहुने अवस्थामा मुलुक पुग्न लागेको भन्दै कांग्रेस चुप लागेर बस्न नहुने बताएका थिए ।

उनले पनि तत्काल विरोधका कार्यक्रम घोषणा गर्नुपर्ने दबाव नेतृत्वलाई दिएका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुन बस्नेछ ।

सम्बन्धित खवर