अविश्वासको प्रस्ताव सामना गर्न तयार छु : मुख्यमन्त्री गुरुङ

अविश्वासको प्रस्ताव सामना गर्न तयार छु : मुख्यमन्त्री गुरुङ

पोखरा : गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गोरखाका रामशरण बस्नेतलाई मन्पिपरिषदको पहिलो मन्त्री बनाए । झण्डै २ तिहाई सदस्य भएको प्रदेशसभामा विश्वासिलो भएकै कारण रामशरणले पहिलो मन्त्री बन्ने सौभाग्य पाएका थिए । गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने निर्णय गर्दाका साक्षी रामशरणकै नै थिए । समय तीनवर्ष अघिको जस्तो छैन । पृथ्वीसुब्बा र रामशरणको पार्टी दुई धारमा बाँडिएको छ ।

दुईधारमा बाँडिनासाथ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ‘अल्पमत’मा पर्ने सम्भावना देखिएको छ । नेपाल एकीकरणका ‘नायक’ पृथ्वीनारायण शाहको जन्मस्थलसमेत रहेको गोरखामा पुगेर शनिबार मुख्यमन्त्री पृथ्वीसुब्बाले भने,‘उहाँहरूले अविश्वासको प्रस्ताव जतिसुकै बेला दर्ता गर्न सक्नुहुन्छ, त्यसको लागि म तयार छु ।’

पछिल्लो समय जनमोर्चाले आफूलाई सघाउने र जनता समाजवादी पार्टीलाई पनि आफ्नो पक्षमा तान्न सकिन्छ कि भन्ने आंकलनका बीच उनले अविश्वासको प्रस्तावको सामना गर्ने बताएका हुन् ।

नेकपाको प्रचण्ड– माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कसरत गरिरहँदा मुख्यमन्त्रीले सो समूहबाट मन्त्री बनेकाहरुलाई तत्काल नहटाउने जनाउ पनि दिएका छन् । यसको अर्थ हुन्छ, उनी सकेसम्म अहिलेको समीकरण नभत्कियोस् भन्ने चाहन्छन् । गोरखामै पनि उनले भनेका छन्,‘केन्द्रमा र अरु प्रदेशमा झगडा हुदैमा गण्डकी प्रदेशमा पनि झगडा गर्नैपर्छ भन्ने छैन । मिलेर जानुपर्छ । अरु प्रदेशका लागि पनि नमूना प्रदर्शन गर्नुपर्छ भन्ने मेरो तर्क छ ।’ उनको जे तर्क भए पनि आफ्नो सरकार संकटमा नपरोस् भन्ने नै भित्रि चाहना हो । अहिले गण्डकी प्रदेशमा प्रचण्ड– माधव समूहसँग १३ जना सभासद छन् । ती १३ जनाले साथ छाड्ने हो भने मुख्यमन्त्रीसँग २७ जना सभासद मात्रै बाँकी हुन्छन् । त्यस्तोमा उनले आफ्नो सत्ता जोगाउन कि त १५ सिट भएको कांग्रेस, कि जनमोर्चाको साथ लिनुपर्छ । यी तीनवटै दल आउन मानेनन् र मिले भने उनी समस्यामा पर्छन् । त्यही बुझेर मुख्यमन्त्रीे सकेसम्म अहिलेकै समीकरण नभत्काउने र प्रचण्ड–माधव समूहमा गएकाहरुलाई नबिच्क्याउने रणनीतिमा छन् ।

पार्टीको गण्डकी इन्चार्जसमेत रहेका उनी यतिबेला नेकपा ओली समूहका प्रशिक्षणहरुमा व्यस्त बनेका छन् । त्यही व्यस्तताकाबीच उनी गण्डकी प्रदेशसभाको सम्भावित समीकरण आफ्नो पक्षमा पार्ने ध्याउन्नमै छन् । उनले त्यही मेसोमा गण्डकी प्रदेशमा प्रतिनधिधित्व गर्ने जनमोर्चा नेपालका सभासदलाई भेटेर आफ्नो पक्षमा लाग्न आग्रह गरिसकेका छन् । जनमोर्चासँग ३ जना सभासद छन् । जनमोर्चाले यसअघि पनि मुख्यमन्त्रीलाई सघाएकै हो । संसदीय दलका नेता कृष्ण थापाले मुख्यमन्त्रीलाई भेटेपछि तत्काल आफ्नो समर्थन फिर्ता नहुने जानकारी गराएका छन् । पहिचानवादीको छवि बनाएका मुख्यमन्त्री गुरुङले २ सदस्य रहेको जनता समाजवादी पार्टीसँग पनि छलफल गरिसकेका छन् ।

शुक्रबार लमजुङ पुगेर आफू नेतृत्वको सरकार पाँचवर्ष नै चल्ने बताएका मुख्यमन्त्रीले कथंकदाचित आफू नभए सदन भंग गरेर निर्वाचनमा जाने अन्तिम अस्त्र पनि आफैसँग भएको जनाउ पनि दिइसकेका छन् । यहाँ भएको साहित्य महोत्सवको क्रममा उनले त्यो भनाई राखेका थिए ।तर, उनको यो प्रयास अगावै अन्य दलले बहुमत प्रमाणित गरे भने त्यो बाटो उनको लागि सहज हुने छैन । मुख्यमन्त्रीले अहिले कांग्रेसको मौनता र प्रचण्ड– माधव समूह एक्लैले केही गर्न सक्दैन भन्ने पनि बुझेका छन् । २७ जना सभासद आफूतिर भएको अवस्थामा उनले सके फकाएर आफ्नो बनाउने नसके फुटाएर भए पनि सत्ता जोगाउनेतिर ध्यान केन्द्रीत गरिरहेका छन् ।

सम्बन्धित खवर