शेरधन राई दलको नेताबाट बर्खास्त

शेरधन राई दलको नेताबाट बर्खास्त

विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई उहाँकै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलबाट बहुमत सदस्यहरुले हटाएका छन् ।

नेकपा संसदीय दलको नेता परिवर्तन गर्न यसअघि प्रदेशसभाका ३६ सदस्यले उपेनता टंक आङ्बुहाङलाई पत्र बुझाएका थिए । पत्र प्राप्त भएपछि आङ्बुहाङले पुस १९ गते संसदीय दलको बैठक बोलाउनुभएकोमा मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव पेश गर्नेलाई स्पष्टिकरण सोधेपछि बुधबार विहान नै आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाईएको थियो ।

बहुमत सदस्यको अविश्वास प्रस्ताव आएपछि दलको नेताको हैसियतमा कुनैपनि काम नगर्न सुचित गरेको भएपनि मुख्यमन्त्रीले स्पष्टिकरण सोध्ने र सांसदलाई धम्क्याउने काम गरेकोले आकस्मिक रुपमा दलको बैठक बोलाएको नेता आङ्बुहाङले जानकारी दिनुभयो । बुधबार विहान ९ बजे बसेको बैठकले राईलाई पदमुक्त गरेर आचार्यलाई दलको नेतामा चयन गरेको उहाँको भनाइ छ ।

दलका उपनेता टंक आङ्बुहाङले प्रदेश १ प्रदेशसभा सचिवालयमा पुगेर दलको नेताबाट वर्तमान मुख्यमन्त्री तथा आफ्नो दलका नेता राईलाई बहुमत सांसदहरुले निष्कासन गरेको पत्र दर्ता बिहीबार गराउनुभएको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिनुभयो । प्रदेशसभामा नेकपाको दलको नेता परिवर्तन भएको जानकारी पत्र दर्ता भएको उहाँको भनाइ छ ।

प्रदेशसभाको बैठक आह्वान भइसकेको सन्दर्भमा संसदमा रहेका दलहरुसँग छलफल आवश्यक पर्ने सन्दर्भमा दलको नेता परिवर्तनको पत्र दर्ता भएको सभामुख भण्डारीले जानकारी दिनुभयो ।बहुमत सदस्यबाट अविश्वासको पत्र दर्ता भइसकेको वर्तमान अवस्थामा सोही दलबाट निर्वाचित संसदीय दलका नेता राई नैतिक रुपमा दलका नेता हुन नसक्ने पत्रमा उल्लेख छ ।

दललको नेताबाट हटाएको पत्र मुख्यमन्त्रीलाई पनि पठाएको नेकपाका सांसदले बताएका छन् । यसअघि गत आइइतबार मुख्यमन्त्री राईविरुद्ध संसदमा नेकपाकै ३७ जना सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरेका थिए । सोही दिन नेकपा संसदीय दलको नेताबाट पनि उनलाई हटाउन ३६ जना सांसदले संसदीय दलका उपनेता टंक आङ्बुहाङलाई पत्र बुझाएका थिए ।

सम्बन्धित खवर