काठमाडौँ : वैदेशिक रोजगारीको करार अवधि समाप्त भएका श्रमिकले शुक्रबारदेखि अनलाइन मार्फत नै श्रम नवीकरण गर्न पाउने भएका छन् । बिदामा आएका वा विदेशमा रहेका श्रमिकले अनलाइन मार्फत नै पुन: श्रम स्वीकृति लिन पाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै एकपटक आँखा वा औंठाछापको स्क्यान लिइसकेका श्रमिकले मात्रै अनलाइन मार्फत आफ्नो श्रम नवीकरण गर्न पाउने जनाएको हो ।
श्रमिकले आफ्नो श्रम नवीकरणको निस्सा आफ्नो इमेलमै प्राप्त गर्न सक्नेछ । यो नियम कार्यान्वयनमा आएकोले अब श्रम नवीकरण गर्नको लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हटेको विभागले जनाएको छ ।
श्रम नवीकरणको लागि चाहिने म्यादी बिमा र कल्याणकारी कोषको भुक्तानी पनि अनलाइन मार्फत नै गर्न पाउने व्यवस्था मिलाएको भन्दै विभागले यसको लागि सेवाप्रदायक संस्थालाई थप शुल्क भुक्तानी गर्न नपर्ने जनाएको छ ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डेड वर्ष अगाडि नै वैदेशिक रोजगार नियमवाली–२०७६ लाई पाँचौं पटक संशोधन गरी अनलाइन मार्फत् नै पुन: श्रम स्वीकृति गर्ने ब्यवस्था मिलाएको थियो ।





