एजेन्सी : ला लिगा फुटबलको शीर्ष स्थानमा रहँदै एट्लेटिको मड्रिडले यस वर्षको बिदाई गरेको छ ।
बुधबार राति घरेलु मैदानमा एट्लेटिको मड्रिडले गेटाफेलाई १–० ले हरायो ।
जित सहित एट्लेटिकोले शीर्ष स्थानमा रहँदै यस वर्षको सुखद बिदाई गरेको हो ।
एट्लेटिकोको जितमा लुईस सुआरेजले विजयी गोल गरे । उनले खेलको २० औं मिनेटमा हेडमार्फत घरेलु टोलीका लागि विजयी गोल गरेका हुन् ।
प्रशिक्षक डिएगो सिमोनले एट्लेटिकोबाट ५ सय खेल पुरा गरे । सिमोन सन् २०१४ पछि पहिलो पटक लिग उपाधिको दौडमा अघि देखिएका छन् । उनले क्लबबाट ३ सय १ खेलमा जित हासिल गरेका छन् ।
मंगलबार मात्र एट्लेटिकोले फरवार्ड डिएगो कोस्टालाई क्लबबाट बिदाई गरेको थियो ।
सुआरेज र जुआओ फिलिक्स फरवार्ड लाईनमा रहँदा कोस्टाले नयाँ गन्तब्य खोज्न राजी भएका हुन् ।
शीर्ष स्थानको एट्लेटिकोको ३५ अंक भएको छ । उसले दोस्रो स्थानको रियलसंग २ अंकको अग्रता लिएको छ । रियल बुधबारनै भएको खेलमा ईल्चेसंग १–१ को बराबरीमा रोकियो ।
गेटाफे १७ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।