काठमाडौं : दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको बुधबारसम्पन्न खेलमा प्रदेश– १ ले सहज जित निकालेको छ।
समूह ‘बी’ अन्तर्गतको खेलमा प्रदेश– १ ले सुदुरपश्चिमविरुद्ध पाँच विकेटको जित निकालेको हो।
जितसँगै चार अंक जोडेको प्रदेश– १ समूहको शीर्षस्थानमा छ। टस जितेर ब्याटिङ राजेको सुदुरपश्चिमले प्रतिकुल मौसमका कारण १६ ओभरमा झारिएको खेलमा पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा ५३ रन जोड्यो।
५४ रनको लक्ष्यका साथ मैदान छिरेको प्रदेश– १ ले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
प्रदेश १ को जितका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन जोडिन भने टिमले अतिरिक्त १५ रन प्राप्त गरेको थियो।
अप्सरी बेगमले ९ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गरेनन्।
यता सुदुरपश्चिमकी दिपा जोराले दुई विकेट लिइन् भने कविता कुँवर र कविता जोसीले समान १–१ विकेट लिए।
त्यसअघि ब्याटिङमा आएकी सुदुरपश्चिमकी जोसीले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।
बरु प्रदेश १ की संगीता राईले तीन विकेट लिइन भने सबनम राईले दुई विकेट लिइन्। त्यस्तै, रुविना क्षेत्री र निग्मा तामाङले समान १–१ विकेट लिए।
जितसँगै प्रदेश १ सेमीफाइनलको नजिक पुगेको छ।