काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनीतिक विभाजन भइसकेको पृष्ठभूमिमा विस्तृत अध्ययनका लागि चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ यचै एक समूहको नेतृत्व गर्दै काठमाडौं आइपुगेका छन् ।
उपमन्त्री यचैको समूहले नेपाल ओर्लिएलगत्तै सबैभन्दा पहिले नेपालमा रहेको चिनियाँ दूतावासमार्फत अहिलेको नेपालको परिस्थितिको विषयमा ब्रिफिङ लिएको छ । यसअघि नेकपामा राजनीतिक विभाजनपछि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पनि बढेको थियो ।
उपमन्त्री यचैले नेकपामा अहिलेको परिस्थिति आउनुको कारण, अबको विकल्प र यसको असर तथा मिल्नका लागि आवश्यक विकल्पहरुका विषयमा तथ्यपकर छलफल र सल्लाह तथा सुझाव दिने जिम्मेवारी सहित नेपाल ओर्लिएका बताइएको छ ।
यसअघि उपमन्त्री यचै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने समयमा पनि नेपाल आएका थिए । २०७४ साल फागुनमा नेपाल आएका यचैले बामपन्थी दलका शीर्ष नेतासँग छलफल गरेका थिए ।
उपमन्त्री यचैको भ्रमणका विषयमा अहिलेसम्म आधिकारिक भ्रमण तालिका नेपाल तथा चिनियाँ कुनै पक्षबाट पनि सार्वजनिक भएको छैन । यचैले भ्रमणको सूचना चुहिने डरमा नेपाली सुरक्षासमेत नलिएका विश्वस्त स्रोतले बताएको छ ।
उपमन्त्री यचैले सुरुमा नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल तथा अन्य शीर्ष नेताहरुसँग भेट गर्नेछन् । त्यसपछि उनीहरुले राजदूतावासबाट ब्रिफिङ लिने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट्ने बताइएको छ ।