गुडिरहेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

गुडिरहेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडामा गुडिरहेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा शनिबार राति एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरमा मे ११ प ३४३५ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–१० का ५२ वर्षीय सन्तबहादुर आलेमगरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताउनुभयो।

उहाँका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ९ः५५ बजेतिर मृत्यु भएको हो। दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार रतुवामाई–५ का ४४ वर्षीय शुक्ल मुर्मु घाइते भएका छन्।

घाइतेको पथरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले ट्याक्टर र चालक कानेपोखरी गाउँपालिका–५ का २२ वर्षीय राम तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको खुलेको डीएसपी थापाले बताउनुभयो।

सम्बन्धित खवर