बेलायत र ईयूबीच व्यापार सम्झौतामा हस्ताक्षर

बेलायत र ईयूबीच व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं : बेलायत र युरोपेली संघ (ईयू) ले ब्रेक्जिटपछिको एउटा व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । माछा मार्ने अधिकार तथा भावी व्यापार नीतिलाई लिएर महिनौँयता जारी गतिरोध र असहमति अन्त्य गर्दै बेलायत र युरोपेली संघ (ईयू) ले ब्रेक्जिट पछिको एउटा व्यापार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार क्रिष्टमस ईभको अवसरमा दुबै हात उठाउँदै थम्ब्स अपलाई औंल्याउँदै आफ्नो तस्बिर पोस्ट गरेका छन् र द डील इज़ डन लेखेका छन् । डाउनिङ्ग स्ट्रीटमा आयोजित एक पत्रकार सम्मेलनमा जोनसनले भने, “हामीले हाम्रा कानुन तथा भविष्यमाथि पुनः नियन्त्रण कायम गरेका छौँ।”

जोनसनले “समग्र युरोपका लागि एउटा राम्रो सम्झौता” भएको उल्लेख गरेका छन् । युरोपेली सङ्घबाट औपचारिक रूपमा बाहिरिएको एक वर्षपछि यूके आगामी बिहीवार ईयूका व्यापार नीतिबाट अलग हुनेछ ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री जोनसनले भने, “हामीले वार्षिक ६६८ अर्ब पाउन्ड बराबरको सबैभन्दा ठूलो सम्झौता गरेका छौँ, सम्झौताले हाम्रा कम्पनीहरूलाई हाम्रा युरोपेली साथीहरूसँग अझ बढी व्यापार गर्न दिनेछ ।”

ब्रसल्समा आयोजित एउटा पत्रकार सम्मेलनमा युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेर लायनले भनिन्, “यो एउटा लामो र गाह्रो बाटो थियो। तर त्यसका लागि हामीले एउटा राम्रो सहमति गरेका छौँ ।”

सम्बन्धित खवर