पोखरामा थप दुई जनाको मृत्यु, गण्डकी प्रदेशमा मृत्यु हुनेको सङ्ख्या एक सय ९०

पोखरामा थप दुई जनाको मृत्यु, गण्डकी प्रदेशमा मृत्यु हुनेको सङ्ख्या एक सय ९०

पर्वत : कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा पोखरामा थप दुई जनाको मृत्यु भएको छ। योसँगै प्रदेशमा मृतकहरूको सङ्ख्या एक सय ९० पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा यसको पुष्टि गरिएको छ।

विज्ञप्तिअनुसार तनहुँको म्याग्दे गाउँपालिका–५ का ७३ वर्षीय पुरुषको बुधबार साँझ सवा ५ बजे मृत्यु भएको हो। बुधबार नै कोरोना सङ्क्रमणको पुष्टि भएका ती पुरुषको उपचार क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

निर्देशनालयका अनुसार ती पुरुषमा निमोनिया, उच्च रक्तचाप लगायतका रोगको सङ्क्रमण रहेको थियो। यस्तै स्याङ्जाको फेदीखोला गाउँपालिका–१ का ७४ वर्षीया महिलाको पनि उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।

पुस ५ गते सङ्क्रमण पुष्टि भएकी ती महिलाको बुधबार राति साढे आठ बजे मृत्यु भएको हो। ती महिलामा निमोनियाको पनि सङ्क्रमण रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सम्बन्धित खवर