अन्तत: बादल सहभागी भए ओली समूहको बैठकमा

अन्तत: बादल सहभागी भए ओली समूहको बैठकमा

काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी हुनुभएको छ ।

यसअघिका कुनै पनि समूहको बैठकमा नजानुभएका गृहमन्त्री थापा बिहीबार भने प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा सहभागी हुनुभएको हो ।

यसअघि उहाँलाई ओली समूहमा लाग्न नदिन पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले निकै प्रयास गरे पनि अन्ततः उहाँ ओली समूहतिर नै लाग्नुभएको हो । पूर्वमाओवादी तर्फबाट लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा यसअघि नै ओली समूहतिर लागि सक्नुभएको छ ।

यद्यपि थापा निकट मानिने अरू नेता भने प्रचण्ड–नेपाल पक्षमै रहेका छन् । उहाँ निकट मानिने नेताहरू देव गुरुङ, पम्फा भुसाल, लेखनाथ न्यौपाने, हितमान शाक्यलगायत प्रचण्ड–नेपाल पक्षमै बसे पनि उहाँ मात्रै ओली समूहमा जानुभएको हो ।

ओली समूहको मङ्गलबार (अस्ति) को बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मङ्सिर २ गते गर्ने निर्णय गरेको छ । यस्तै ओली समूहको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रदीप ज्ञवालीलाई दिएको छ ।

सम्बन्धित खवर