काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
आजको बैठकबाटै पूर्व माओवादीका प्रचण्डपछिका प्रभावशाली नेता रामवहादुर थापा बादल ओली पक्षमा लागेका छन् । उनी केपी ओलीको दायाँतर्फको कुर्सीमा बसेका छन् भने बायाँतर्फ अर्का नेता ईश्वर पोखरेल छन् ।
पहिलो लहरमा पूर्व माओवादीका टोपवहादुर रायमाझी र लेखराज भट्ट पनि सँगै बसेका छन् । यसअघि बालुवाटारमा पार्टीको झण्डा र ब्यानरबिनाको बैठक बस्ने गरेकोमा आजको बैठकमा कम्युनिस्ट पार्टीको झण्डा र सूर्य चिन्ह अंकित लोगोसहितको ब्यानर राखिएको छ ।
त्यस्तै बैठकको ब्यानरमा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र तत्कालीन नेकपा एमालेका महासचिव जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको तस्वीर राखिएको छ । प्रचण्ड माधव नेपाल पक्षको बैठकमा भने राष्ट्रिय अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका कुनै पनि नेताहरुको फोटो राखिएको छैन ।