प्रदेश एकमा गहुँका लागि पर्याप्त मल उपलब्ध

प्रदेश एकमा गहुँका लागि पर्याप्त मल उपलब्ध

विराटनगर : गहुँबालीलाई आवश्यक पर्ने रासायनिक मल युरिया प्रदेश नम्बर १ का लागि पर्याप्त रहेको छ । कार्यालयमा अहिले एक हजार २ सय ६६ मेट्रिक टक युरिया, एक हजार ३ सय ४३ मेट्रिक टन डिएपी मल र एक हजार ३ सय ८८ मेट्रिक टन पोटास मौज्दात छ ।

केही दिनभित्रै एक हजार मेट्रिक टन युरिया आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका कार्यालय प्रमुख नवरत्न गौतमले बताए ।

यस वर्ष पहाडी जिल्ला ओखलढुङ्गामा पनि सेवा विस्तार गर्नुपर्ने भएकाले लहान कार्यालयबाट मल उपलब्ध गराइने जनाइएको छ । कार्यालयले पूर्वी क्षेत्रमा सुनसरीको इटहरी, धनकुटा, इलाम, झापाको बिर्तामोड र उदयपुरको गाईघाटबाट किसानलाई मल उलब्ध गराइरहेको छ ।

यसैगरी, साल्ट ट्रेडिङ कम्पनी लिमिटेड विराटनगरमा अहिले चार हजार ३ सय ५० मेट्रिक टन युरिया र तीन हजार मेट्रिक टन डिएपी मौज्दात रहेको लिमिटेडका प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । उनले निकट भविष्यमै पाँच हजार मेट्रिक टन डिएपी, दुई हजार ५ सय मेट्रिक टन पोटास र सात हजार मेट्रिक टन युरिया आउने निश्चित रहेकाले कुनै पनि किसानले गहुँमा मल हाल्न पाइन भन्ने अवस्था नरहने ठोकुवा गरे ।

गहुँलाई चाहिने मल पर्याप्त रहेको तथा अहिलेको मौज्दात तथा मल आउने क्रम जारी रहेकाले केही समयपछि यस क्षेत्रमा लगाइने गर्मा धानका लागि पनि पाइने प्रमुख चौधरीले जानकारी दिए ।

अहिले ५० केजी युरिया मलको मूल्य रु ७ सय ५० र ५० केजी डिएपी मलको मूल्य रु दुई हजार २ सय छ । सरकारको मातहतका कार्यालयबाट वितरण हुने मलले नै किसानको खेतबारीलाई राम्रो गर्ने भएकाले भारतबाट गुणस्तरहीन मल ल्याउन नहुने कृषिविज्ञ बताउँछन् ।

यस वर्ष समयमै रासायनिक मल किसानले पर्याप्त मात्रामा नपाएकाले भारतबाट अवैध रुपमा भित्र्याइएको छ । यसबाट किसानको खेत पनि बिग्रिने र बालीमा रोग र कीराको प्रकोप बढ्ने चेतावनी दिइएको छ ।

सम्बन्धित खवर