प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : विष्णु पौडेल

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : विष्णु पौडेल

काठमाडौं : नेकपा केपी शर्मा ओली समूहका महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताउनु भएको छ । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिनुभयो ।

उहाँले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केपी शर्मा ओलीमाथि ‘आधारहीन आरोपसहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण भएको तर्क दिनुभयो । उहाँले पार्टी एकता नहुँदैदेखि दाहालले सहमति भङ्ग गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले अनेक विकल्प अघि सार्दा पनि सहमति कायम गर्न नसकिएको बताउनुभयो ।

‘प्रधानमन्त्री ओलीले महाधिवेशन वा विशेष महाधिवेशनबाट भए पनि नेतृत्व हस्तान्तरण गर्छु भन्नुभयो,’ पौडेलले भन्नुभयो, ‘तर उहाँहरू महाधिवेशन र विशेष महाधिवेशन दुवैमा तयार हुनु भएन ।’

पौडेलले सचिवालयका ७७ बैठक बस्दा पनि पार्टीलाई सही दिशामा लैजान नसकिएको जनाउँदै सचिवालयमा आफूअनुकूल निर्णय गर्न खोज्दा सधैँजसो समस्या देखिने गरेको बताउनुभयो।

सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सरकारले थुप्रै राम्रा काम गरे पनि नेकपाकै नेताहरुले विरोध गरेर कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाउनुभयो । उहाँले अघिल्लो पटकको प्रधानमन्त्रीकालमा ओलीले भारतसँग विद्युत् किनेका कारण मुलुक विद्युत्भार कटौतीमुक्त भएको जिकिर गर्नुभयो । रासस

सम्बन्धित खवर