माधव नेपालले पूर्वएमालेको सम्पत्तिमा दाबी गर्न मिल्दैन : ओली

माधव नेपालले पूर्वएमालेको सम्पत्तिमा दाबी गर्न मिल्दैन : ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रचण्डले कारबाही गर्न र माधव नेपालले पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताउनुभएको छ ।

बुधबार साँझ ‘योहो टेलिभिजन’मा उहाँले नेकपा विभाजन भएको स्वीकार गर्दै भन्नुभयो, ‘प्रचण्डजी र मैले एकता गरेका थियौँ, दुई वटा पार्टी मिलाएर लैजाने भनेका थियौँ, प्रचण्डजी र म मिलेनौँ ।’ प्रचण्डले आफूलाई कारबाही गर्नु भनेको हास्यास्पद भएको पनि उहाँले तर्क गर्नुभयो ।

‘प्रचण्डले मलाई पार्टी सदस्यबाट निष्काशन गर्ने ? चार्ली च्याप्लिनको जोकभन्दा माथिल्लो हैसियतको लाग्दैन । प्रचण्डभन्दा कम्तीमा एक दशक अगाडि राजनीतिमा लागेको हुँ । एक दशक अगाडि पार्टी सदस्यता लिएको होला । जसले पाहुनालाई बास बस्न दियो, उसले घरबेटीलाई निकालेजस्तो भएन र ?’ ओलीले अन्तर्वार्तामा भन्नुभयो । उहाँले आफूलाई कसले कहाँबाट निकाल्छ भन्ने कुराको कुनै मतलब नभएको पनि दाबी गर्नुभयो ।

ओलीले पार्टीमा अहिलेको विभाजन माधव नेपाल र झलनाथ खनालसँग नभएर प्रचण्डसँग भएको बताउनुभयो । त्यसैले पूर्वएमालेको पार्टी कार्यालयमा नेपाल र खनालले दाबी गर्न नमिल्ने र नसक्ने उहाँले जिकिर गर्नुभयो । ‘प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव जीले दाबी गर्न मिल्दैन । उहाँ प्रचण्डकीको सेकेण्डमेन भएर हिँड्नुभएको छ । प्रचण्डजीको कार्यकर्ताले प्रचण्डजीकै त्यही श्रीसम्पत्तिमा रमाउन सिक्नुपर्छ’ ओलीले भन्नुभयो ।

आफूले पेरिसडाँडाको सम्पत्तिमा हक दाबी नगर्ने पनि ओलीले स्पष्ट पार्नुभयो । ‘विभाजन भएको प्रचण्डजी र मेरो हो । पेरिसडाँडामा मेरो हक दाबी छैन । मैले प्रचण्डजीसँग विभाजन गरेको हो । नेपाल, झलनाथ र नारायणकाजीसँग विभाजन गरेको हैन’ ओलीले भन्नुभयो ।

ओलीले प्रचण्ड-नेपाल समूहको मंगलबारको केन्द्रीय कमिटी बैठकमा देखिएको दृश्यबारे व्यङ्ग्य पनि गर्नुभयो । एक पार्टी प्यालेसमा भएको बैठकमा प्रचण्ड, नेपाल, खनाललगायतका नेताहरु सोफामा बसेका थिए ।

अन्तर्वार्तामा यो प्रसंग उठाउँदै ओलीले भन्नुभयो, ‘हिजो त उहाँहरु सोफामा बस्ने कुरामा पनि इस्यू निकाल्नुहुन्थ्यो, बालुवाटारमा मिटिङमा त म अपरेसन गरेर फर्किएपछि पनि सहज सोफामा बस्न दिइएको थिएन । तर उहाँहरुलाई सोफा चाहिने रहेछ नि ।’

ओलीले केन्द्रमा अर्को समूहको संख्या केही धेरै जस्तो देखिए पनि तल्लो तहमा आफ्नो पक्ष नै बलियो रहेको दाबी पनि गर्नुभयो । ‘मसँग सोली घोप्ट्याएजस्तो छ, टुप्पामा थोरै तल विशाल’ ओलीले भन्नुभयो ।
प्रचण्ड-नेपाल समूहलाई उहाँले लुँडो खेलको संज्ञा दिनुभयो ।

‘उहाँहरुले ९९ मा पुगेको ठान्नु भयो र १०० मा पुगेको भनेर यस्तो हतार गर्नुभयो । तर, लुँडो खेलेजस्तो दुईमा झर्नुहुन्छ’, ओलीले भन्नुभयो ‘चुनावमा जान यति आत्तिनु भएको किन ? जनतासँग यस्तो त्रास किन ? किनभने दुईमा झर्ने उहाँहरुले देख्नुभएको छ।’

ओलीले प्रधानमन्त्रीसँग विशेष अधिकार हुने र आफूले चुनावमा जाने घोषणा गरेपछि देश अब चुनावमा होमिएको बताउनुभयो । उहाँले देशमा अब चुनाव हुने निश्चित भैसकेको दाबी गर्नुभयो । निर्वाचन आयोगसहितका सरोकारवाला निकायले आवश्यक तयारी थालिसकेको भन्दै अदालतमा परेको मुद्दाको टुंगो लागेपछि थप स्पष्ट हुने पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारतले मिचेको नेपालको भूमि समेटेर नक्सा छापेपछि आफूमाथि प्रहार भएको दाबी पनि गर्नुभयो । यस्तै ओलीले प्रदेशमा चलखेल हुन थाले थप कदम चाल्ने चेतावनी पनि दिनुभएको छ ।

नेकपाको केन्द्रमा देखिएको विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने देखिएको सन्दर्भमा ओलीले प्रदेश र पालिकामा जे छ अब त्यही छाड्नुपर्ने बताउँदै प्रचण्ड – नेपाल पक्षले कुनै कदम चालेमा आफू अर्को कदम चाल्न बाध्य हुने चेतावनी दिनुभएको हो ।

सम्बन्धित खवर