धेरै धुलो उडेको भन्दै स्थानीयले गरे सडक बन्द

धेरै धुलो उडेको भन्दै स्थानीयले गरे सडक बन्द

उदयपुर : सिद्धिचरण राजमार्गअन्तर्गत कटारी–घुर्मी सडकखण्डमा धेरै धुलो उडेको भन्दै त्यस क्षेत्रका बासिन्दाले सडक बन्द गरेका छन्। स्तरोन्नति हुँदै गरेको उक्त सडकखण्डमा धरै धुलो उडेकाले धुलो कम गर्न पानी हाल्न र समयमै काम सम्पन्न गर्न चेतावनी दिन बन्द गरेको स्थानीय बताएका छन्।

कटारीको मरुवामा स्थानीयले टायर बालेर तीन घण्टा सडक अवरुद्ध गरेका थिए। सडकमा आवतजावत गर्ने यात्रु मात्र नभई त्यो लाइनमा सञ्चालन गरिएका होटल व्यवसाय पनि धुलोले चौपट भएको व्यवसायीहरु बताउाछन्। ठेकेदारले धुलाम्मे सडकमा पानी हाल्ने सहमति गरे पनि पानी नहालेको व्यवसायी जमानसिंह बस्नेतले बताए। सडक समयमा नबन्दा स्थानीयको आफ्नो खानामा समेत धुलो पुग्ने गरेको स्थानीय युवा आशिक कटुवाल बताउँछन्।

कटारी अस्पताल चोकदेखि ३२ सय मिटर सडक कालोपत्रे गर्ने भनेर ठेकेदारले काम सुरू गरेर बीच मै अलपत्र बनाएर छाडेपछि स्थानीयहरु धुलो बाट आजित बनेका हुन। सडक अवरुद्ध भएपछि दिनमा दुईपटक धुलो उड्Þन नदिन पानी हाल्ने सहमति भएसँगै सडक पुनः सञ्चालनमा आएको कटारी–४ का वडाध्यक्ष कृष्णराज दनुवारले बताए। उक्त सडकखण्डमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत रौता सुसम आदित्य रेग्मी जेभीले काम गरेको हो।

प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत तीन करोड २४ लाख ६ हजार ५७४ रुपैयाँ लागतमा त्यहाँ काम थालिएको हो। २०७६ चैत्र ६ गते सम्झौता गरेको ठेकेदार कम्पनीले गत असार ३० गते काम गरिसक्नुपर्ने भए पनि अहिलेसम्म काम सकेको छैन।

सम्बन्धित खवर