नेकपा ओली समूहले प्रदेशगत भेला र प्रशिक्षण गर्ने

नेकपा ओली समूहले प्रदेशगत भेला र प्रशिक्षण गर्ने

काठमाडौं : केन्द्रीय कमिटीको विस्तारसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूहले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण सुरु गरेको छ ।

सो पार्टीले मंगलबारदेखि काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला सुरु गरेको छ ।

सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गरेका थिए । अन्य प्रदेशमा पनि दुई दिनभित्र प्रशिक्षण सकाउन केन्द्रीय वक्ता र समन्वयकर्ता तोकिएको पार्टीका केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शङ्कर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र रायमाझी, प्रदेश नं २ मा पोखरेल र सत्यनारायण मण्डललगायत तथा प्रदेश नं १ मा तोकिन बाँकी रहेको जनाइएको छ ।

भेलाको संयोजनका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै स्थायी समिति सदस्य र केन्द्रीय कमिटीमा रहेका नेताहरुलाई जिम्मेवारी दिएको छ ।

ओली समूहको हिजो भएको केन्द्रीय समिति बैठकले आगामी मंसिर २ देखि ८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसका लागि महाधिवेशन आयोजक समिति गठन गरिएको छ । जसमा पार्टीको साविक केन्द्रीय समितिमा रहेका ४ सय ४७ जना, नयाँ थपिएका ५ सय ५६ जना र पछि थपिने १ सय ९६ जनागरी १ हजार १ सय ९९ सदस्य रहेका छन् ।

यस्तै बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ । बैठकमै नयाँ थपिएका सदस्यलाई ओलीले सपथग्रहण गराएका छन् । बैठकले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने पनि निर्णय गरेको छ ।

केन्द्रीय समितिको अर्को बैठक आगामी बिहिबार बस्ने पनि निर्णय भएको छ ।

सम्बन्धित खवर