बार्सिलोनासँग भालाडोलिडलाई ३–० गोलले पराजित, मेस्सीको ६४४ गोल पूरा

बार्सिलोनासँग भालाडोलिडलाई ३–० गोलले पराजित, मेस्सीको ६४४ गोल पूरा

 

काठमाण्डौ – यसअघि एकै क्लबका लागि सर्वाधिक गोल गरेर रेकर्ड कायम गरेका फुटबल खेलाडी पेलेको रेकर्ड तोडिएको छ । लियोनल मेस्सीले बार्सिलोनाका लागि ६ सय ४४ गोल पूरा गरेसँगै एउटै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने ब्राजिलका खेलाडी पेलेको कीर्तिमान तोडिएको हो ।

गएराति स्पेनिस ला लिगा अन्तर्गत रियल भालाडोलिडसँगको खेलमा १ गोल गरेसँगै मेस्सीले पेलेको कीर्तिमान तोडेका हुन् । बार्सिलोनाले भालाडोलिडलाई ३–० गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि क्लेमेन्ट लेङलेट, मार्टिन ब्रेथवेइट र मेस्सीले १–१ गोल गरेका हुन् ।

पेलेले ब्राजिलको सान्तोषबाट १९ सिजन खेल्दा ६४३ गोल गरेका थिए । मेस्सीले बार्सिलोनाको सिनियर टिमबाट १६ सिजनमै यो उपलब्धी हासिल गरेका हुन् । यसबीचमा उनले बार्सिलोनालाई १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् ।

जितपछि १४ खेलबाट २४ अंकसहित बार्सिलोना तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यस्तै गएराति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले तेस्रो स्थानमा रहेको रियल सोसिडाडलाई २–० ले पराजित गरी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।

सम्बन्धित खवर