प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएपछि संसद् विघटन भयो : शंकर पोखरेल

प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएपछि संसद् विघटन भयो : शंकर पोखरेल

नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकार र पार्टीमा काम गर्न नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने कदम चालिएको बताएका छन् । ओली निकट मानिने पोखरेलले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको विकल्प बाध्यात्मक रहेको बताएका हुन् ।

साथै, उनले पार्टी कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव र अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको पनि बताएका छन् ।

‘पार्टी एकताको मर्म विपरितको समीकरण, पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोपसहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कमदका रूपमा ताजा जनादेशमा जाने निर्णय आएको हो,’ पोखरेलले फेसबुकमा लेखेका छन्, ‘पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक मानिन्छ ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले सडक आन्दोलनको बाटोले प्रतिकृयावादी र दक्षिणपन्थीलाई फाइदा पुग्ने भएकाले गम्भीर र जिम्मेवार बन्नसमेत आग्रह गरेका छन् ।

आज बिहान बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् विघटन गरेकी हुन् । संसद् विघटनपछि चौतर्फी विरोध र प्रदर्शन सुरु हुन थालेको छ ।

सम्बन्धित खवर