प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनावबारे प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियासहितका आयुक्तसँग छलफल गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटनको घोषणा गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि चुनावको मिति तोकेकी छन्।
प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितलाई राखेर मध्यावधि चुनावबारे छलफल गरेका हुन्।
छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकै चरणमा चुनावको मिति तय गर्न आग्रह गरेका थिए।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिएको जानकारीअनुसार १० दिनको समय राखेर भन्दा एकैपटक निर्वाचन गराउँदा राम्रो हुने सुझाव प्रधानमन्त्रीलाई दिइएको छ। ‘खर्च पनि कम हुने, सुरक्षालगायतको कुरा पनि सहज हुने भएकाले एकै पटकमा निर्वाचन गराउँदा राम्रो हुने सल्लाह आयोगले दिएको हो’, श्रेष्ठले भने।
१० दिनको समय राख्दा मतगणनामा पनि समस्या पर्न सक्ने आयोगको सुझाव थियो । प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते निर्वाचनको मिति प्रस्ताव गरेका छन्।