पथरी, टेन्स्बर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगको आजको खेलमा देविगञ्ज फुटबल क्लबले ३–२ गोलान्तरले जित हात पार्दै लिगबाट बाहिरिएको छ भने पराजित वाईजिएफटीलाई समेत लिगबाटसँगै बाहिर लिएर गएको छ।
आजको खेलमा देविगञ्जको विजयसंगै नक–आउट समीकरण समेत तय भएको छ। प्रतियोगिताको नक–आउट चरणमा टेन नवोदय, न्यु स्टार, सिरिजङ्गा र रियल ब्रदर्सले खेल्ने भएका छन् ।
आजको खेलमा वाइजिएफटीका अभय लिम्बुले खेल शुरु भएको ३ मिनेट बित्न नपाउदै पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको २४ औँ मिनेटमा देविगञ्ज फुटबल क्लबका गोविन गुरुङ्गले सन्तोष न्यौपानेको पासमा जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याए।
सो बराबरीलाई तोड्दै वाईजिएफटीका रोशन न्यौपानेले खेलको ४४ औँ मिनेटमा थप १ गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए तर सो अग्रता समेत धेरै समय टिक्न सकेन। खेलको ६९ औँ मिनेटमा देविगञ्जका कप्तान सन्तोष न्यौपानेले थप १ गोल गर्दै खेललाई बराबरीमा ल्याए। सन्तोष न्यौपानेले खेलको अन्तिम मिनेटमा थप एक गोल गर्दै टिमलाई ३–१ ले विजयी बनाए।
आजको खेलमा २ गोल गरेका देविगञ्जका सन्तोष न्यौपाने खेलको सोनालिका म्यान अफ दि म्याच घोषित हुँदै पुरस्कृत भएका छन् ।
लिग चरणको अन्तिम खेल भोलि सोमबार टेन नवोदय फुटबल क्लब र रियल ब्रदर्स फुटबल क्लब विच हुनेछ। दुवै टिमले नक–आउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् भने भोलीको खेल लिगको शिर्ष स्थानका लागि मात्र हुनेछ। नक–आउट चरणका खेलहरु पौष ८ गतेबाट हुनेछ।
मोफसलमै पहिलो पटक खेलाडी लिलाम बिक्रि मार्फत खेलाडी छनौट गरि ८ टिमबिच प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार पाउने छ भने उपविजेता टोलिले ७५ हजार प्राप्त गर्ने छ।