झापामा एक महिलाको शव फेला

झापामा एक महिलाको शव फेला

भद्रपुर : बिर्तामोड नगरपालिका–२ चैतुबारीको खेतमा एक महिलाका शव फेला परेको छ। सोही ठाउँकी ४२ वर्षीया दिनो राजवंशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

प्रहरीका अनुसार ती महिलाको शव आइतबार बिहान फेला परेको हो। मृतक महिलाको नाक र मुखबाट रगत बगेको र उत्तानो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटना शंकास्पद रहेको एसपी कोइरालाले बताए।

‘महिलाको मृत्यु शंकास्पद छ,’ एसपी कोइरालाले भने, ‘घाँटीमा सल बेरिएको छ। धारिलो हतियार केही प्रयोग गरिएको छैन, घटनाको विषयमा थप अनुसन्धान हुँदैछ।’

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली थप अनुसन्धानका लागि खटिएको छ। धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’सहितको प्रहरी टोली घटनास्थल आउन लागेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार वीरबहादुर राजवंशी दम्पतीले सोही ठाउँका जगत राजवंशीको खेत लिजमा तीन वर्षदेखि कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए। फार्ममा शनिबार बेलुका ७ बजे श्रीमानलाई खान पुर्‍याउन भनी घरबाट हिँडेकी दिनो राति अबेरसम्म नफर्किएपछि परिवारका सदस्यले उनको खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा उनको शव घरदेखि ३०० मिटर पश्चिम मोहन मगरको खेतमा भेटिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर