नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भाृत संगठन अनेरास्वबियु मोरङको आयोजनामा आज उर्लाबारीमा पार्टी एकता दबाबका लागि जिल्लास्तरीय बृहत विद्यार्थी भेला सम्पन्न भएको छ ।
उर्लाबारी –५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बामा आयोजित भेलामा सहभागी बक्ताहरुले पार्टी एकता जोगाई राख्नका लागि दबाब दिएका थिए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच अझैँ पनि पार्टी एकिकरणकै क्रममा रहेको भन्दै उहाँहरुले आगामी महाधिबेशनबाट मात्र पार्टी एकताले पूर्णता पाउने बताउनुभएको थियो । अनेरास्वबियुका केन्द्रीय निर्वाचन संयोजक भाष्कर खनालले केपी शर्मा ओली नेतृत्वले गरेका राम्रा कामको प्रचार गर्दै गलत कामहरुलाई सुधार गर्नका लागि दबाब दिन सकिने बताउनुभयो ।
मन्तव्यका क्रममा अधिंकाश समय अनेरास्वबियु सहसंयोजक रञ्जित तामाङको कदमबिरुद्ध आक्रमक रुपमा प्रस्तुत हुनुभएका खनालले पार्टी एकता जोगाउन जुनसुकै कदम पनि चाल्न तयार रहेको उद्घोष गर्नुभयो । नेकपा मोरङका जिल्ला सचिवालय सदस्य एवम् स्कुल विभाग प्रमुख रुपेश खतिवडाले सरकारले गरेका राम्रा कामहरु आफ्नै पार्टीका नेता कार्यकर्ताले देख्न नसक्नु दुखद भएको बताउनुभयो । पूर्व एमालेका मतदाताको मत पाएर सांसद् बनेकाहरुले अहिले केपी ओली मुर्दावाद भनेर नारा लगाउँदा समग्र मतदातामाथि नै प्रहार भएको उहाँले बताउनुभयो ।
भेलामा पार्टीका प्रदेश कमिटी सदस्य युवराज बाँस्कोटा, उर्लाबारी नगर कमिटी अध्यक्ष उमाकान्त गौतम, युवा संघका केन्द्रीय सदस्य अञ्जु पाण्डे, अनेरास्ववियुका केन्द्रीय सदस्य गोकर्ण घिमिरे, युुवा संघ जिल्ला संयोजक नविन पौडेल लगायतले बोल्नुभएको थियो । भेला अनेरास्वबियु मोरङका अध्यक्ष सन्तोष घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।