स्पेनिस ला लिगा फुटबलमा क्याटालान क्लब बार्सिलोनाले संघर्षपूर्ण जीत निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को जीत निकालेको हो ।
बार्सिलोनाको जितमा खेलको ७६ औं मिनेटमा लियोनल मेस्सीले निर्णायक गोल गरे ।
बार्सिलोनाका आधा दर्जनबढी प्रहारलाई लेभान्टेका गोलरक्षक अइतोर फेर्नान्डेजले विफल पारिदिएका थिए ।
जितपछि ११ खेलबाट १७ अंक जोडेको बार्सिलोना आठौं स्थानमा उक्लिएको छ । १२ खेलबाट ११ अंकसहित लेभान्टे १८ औं स्थानमा छ ।
गएराति नै भएका अन्य खेलमा ग्रानाडाले एल्चीलाई १–० ले पराजित गरेको छ भने रियल सोसिडाड र एइबर तथा रियल बेटिस र भिल्लारियलबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।