एकल रुपमा चल्न नपाएपछि प्रधानमन्त्रीले जबजको मन्त्र जप्न थाल्नुभयो : मन्त्री आङ्बो

एकल रुपमा चल्न नपाएपछि प्रधानमन्त्रीले जबजको मन्त्र जप्न थाल्नुभयो : मन्त्री आङ्बो

विराटनगर : प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य इन्द्रबहादुर आङ्बोले नेकपाभित्र बिचारको बहस चलिरहेको बताउनुभएको छ ।

झापाको दमकमा आइतबार अनेरास्ववियुको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री आङ्बोले नेकपाको आगामी राजनीतिक दिशा कस्तो हुने र पार्टी तथा सरकारले कसको सेवा गर्ने भन्ने बहसलाई केहि व्यक्तिले पद र प्रतिष्ठामा मात्र केन्द्रीत गर्न खोजेको दावी गर्नुभयो ।

‘अहिले समाजवादको यात्रा कसरी तय गर्ने, पार्टीले कसको सेवा गर्ने र त्यसका लागि कस्तो राजनीतिक दिशा र कार्यक्रम तय गर्ने भन्नेमा बहस छ,’ आङ्बोले भन्नुभयो ‘तर, केही साथीहरु पद र प्रतिष्ठामा मात्र केन्द्रीत हुनखोजे ।’ उहाँले जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादको उपलब्धिका कारण देशमा जनयुद्ध र जनआन्दोलन सिर्जना भई संघीय गणतन्त्र नेपाल स्थापना भएको भन्दै अब यी दुवै बिचारका राम्रा पक्ष समावेश गरेर समाजवादतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीमा सहमति गर्ने तर उल्लंघन गर्ने प्रवृत्ति रहेकोले पार्टीमा समस्या उत्पन्न भएको बताउँदै मन्त्री आङ्बोले संविधान निर्माण भएपछि संयुक्त सरकारको प्रधानमन्त्री बन्दा गरेको सहमति पालना नगर्दा अविश्वासको प्रस्ताव ल्याउनु परेको स्मरण गर्नुभयो । ‘अहिले पनि त्यस्तै प्रवृत्ति दोहोरिएको छ’ उहाँले भन्नुभयो, ‘भदौ २६ को स्थायी समितिको निर्णयसमेत उल्लंघन गरेर पार्टीमा समस्या सिर्जना गर्नुभयो ।’

मन्त्री आङ्बोले केपी ओलीलाई प्रधानमन्त्री र ठूलो पार्टीको अध्यक्ष बन्नेबेला जबज नचाहिएको बताउँदै अहिले एकल रुपमा चल्न नपाएपछि जबजको मन्त्र जप्न थालेको आरोप लागाउनुभयो । प्रदेश संरचनालाई संघीय इकाई भन्ने, गणतन्त्रलाई भित्रैदेखि स्वीकार नगरी संघीय गणतन्त्र नेपाल नलेख्न परिपत्र गर्ने र समावेशिताको पटक–पटक धज्जी उडाउने काम गरेर प्रधानमन्त्रीले परिवर्तनप्रतिको जिम्मेवारी पुरा नगरेको उहाँको भनाइ थियो ।

पार्टीमा देखिएको विवाद र बहस केन्द्रीय समितिमा छलफल गरी समाधान खोज्नुपर्नेमा मन्त्री आङ्बोले जोड दिनुभयो । ‘केन्द्रीय समितिसँग विवेक छ र सबै विषयमा केन्द्रीय समितिले विवेक प्रयोग गर्छ, उहाँले भन्नुभयो ‘पार्टी संघर्ष, रुपान्तरण र एकताको विधिबाट अघि बढ्छ ।’ उहाँले जनपक्षीय र राष्ट्रका निम्ती जनदवाव सिर्जना गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले पार्टी विधि, प्रक्रिया र पद्दति अनुसार चल्ने बताउनुभयो । पार्टीलाई कर्नरमा पारेर व्यक्तिगत स्वार्थमा प्रयोग गर्न दिन नहुने भन्दै युवा विद्यार्थीहरुले गलत प्रवृत्तिको विरोध गर्नुपर्ने बताउनुभयो ।

विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य शिवकुमार मण्डलले नेपालका दुई कम्युनिष्ट पार्टीको एकता केपी ओलीलाई प्रधानमन्त्री बनाउन नभई समाजवादी आन्दोलन अघि बढाउन भएको बताउनुभयो । गत माघमा बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो गौशाला भेला गरेर पार्टी एकता विरुद्ध गतिविधि सुरु गरेको भन्दै नेता मण्डलले प्रधानमन्त्री ओलीकै कारण पार्टी विभाजनको रेखा कोरिएको आरोप लगाउनुभयो । उहाँले सरकारले जनताको पक्षमा काम गर्न नसकेको समेत आरोप लगाउनुभयो ।

भेलामा अनेरास्ववियुका सहसंयोजक रञ्जीत तामाङसहित प्रदेशका अगुवा विद्यार्थीहरुको सहभागिता रहेको विद्यार्थी नेता वसिम आलमले जानकारी दिनुभयो ।

सम्बन्धित खवर