पार्टी एकताविरोधी हर्कत नगर्न पूर्वका युवाको खबरदारी

पार्टी एकताविरोधी हर्कत नगर्न पूर्वका युवाको खबरदारी

भूमिप्रसाद पाठक, पथरी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा एकता र निर्माणको प्रक्रिया टुङ्गो नलाग्दै एकतामा गम्भीर दरार आउन लागेपछि चौतर्फी एकताको पक्षमा जनमत बन्दै गएको छ भने एकताविरोधी हर्कत नगर्न खबरदारी समेत हुन थालेको छ ।

यहिँ सिलसिलामा ‘पार्टी एकताका लागि युवा अभियान’ संस्थागत अभिमतका साथ शनिबार युवा संघ नेपाल, प्रदेश नं. १ ले मोरङको दुलारीमा एउटा भव्य कार्यक्रममार्फत खबरदारी–सभा सम्पन्न गरेको छ ।

कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा उपस्थित नेकपा केन्द्रीय सदस्य, पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सम्बोधन गर्नुभएको थियो । सार्वजनिक जीवन बाँचेका मानिसले मुलुकले कार्यान्वयनमा ल्याएको संविधान र ऐन–कानुनसम्मत् प्रश्न उठेपछि निष्ठा र इमानका साथ सत्य निरूपण नभएसम्म सार्वजनिक आचरण, पद, मर्यादा र जिम्मेवारीबाट अलग्यै रहनुपर्ने पाठ आफूबाट सिक्न सकिने दावा गर्दै अरूलाई नीति, विधि र पद्दतिबारे उपदेश गर्नेहरूले आफूहरूलाई त्यस दायरामा उभ्याउन सक्नुपर्ने बताउनुभयो ।

उहाँले सार्वभौम अधिकारसम्पन्न कार्यकर्ताको साझा मञ्चबाट निर्वाचित पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैको लहडमा आएर राजीनामा दिन नहुने, दिए गलत नजिर बस्ने बताउनुभयो । चित्त नबुझ्नासाथ फेरी अर्को हिउँद नलाग्दै अर्को नेतालाई अध्यक्ष हुने रहर जाग्यो भने फेरी त्यसका लागि पनि मोर्चाबन्दी हुने भन्दै पाटी एकताका बिरुद्ध कोही पनि लाग्न नहुने बताउनुभयो ।

लोकतन्त्र भनेको जीत–हारबीचको साझा र सुन्दर अभिमत हो । जिते सहर्ष स्वीकार्ने अनि हारे कुण्ठा पोखेर सडकमा छताछुल्ल हुन नहुने बताउनुभयो ।

पूर्वमन्त्री बास्कोटाले भरखरै मिक्लाजुङमा मारिएका शिक्षकको नाउँमा दुई अक्षर खर्च गर्न नसक्ने कस्तो मानसिकता भन्दै यसले न आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामहरू देख्न सक्छ, न विकास–निर्माणका साझा एजेण्डामा आधारित छलफल बहस चलाउन सक्छ भनेर मुलुकको राजनीतिक स्थायित्व र सामाजिक–आर्थिक समृद्धिको नेतृत्व गर्न नेतासमक्ष आफ्ना राय सुझाउनुभयो ।

राजनीतिक परिवर्तनपछि प्राप्त अवसरलाई व्यवस्थापन गर्न अब ७० वर्ष नाघेको नेतृत्वले जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने र आसन्न महाधिवेशनबाट कसैलाई पनि २ कार्यकाल मात्र चुनाव लड्न दिइनुपर्ने कानुनी व्यवस्था अनिवार्य गर्नुपर्ने विषयमा जोड दिँदै दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले युवाहरूलाई आफ्नै सहयोद्धाविरूद्ध गलहत्याउने शैलीमा नाङ्गो–उदाङ्गो ढङ्गले आक्रमक हुने र सडकमा सिने बोकेर यसलाई ब्युँताउने सपना सम्हालेर राजतन्त्रको नामको भ्रमको खेती गर्ने दुबै प्रकृतिका पात्र र प्रवृत्तिबाट चनाखो हुन निर्देशन गर्नुभयो ।

राजनीतिक नेतृत्वमा राजनीतिक मुद्दाहरू मात्र आउनुपर्ने तर अदालतमा दर्ता हुनुपर्ने प्रकृतिका आरोपहरू समेत पार्टीमा प्रस्ताव हुन आएकोले यस्ता विषयहरूले स्थान पाउन नहुने बताउनुभयो ।

मदन भण्डारी फाउण्डेसन, १ नं. प्रदेश अध्यक्ष गोपाल गुरागाईंले कार्यक्रम मार्फत ऐक्यबद्धता जनाउनुहुँदै जनताको बहुदलीय जनवाद निर्माणको सन्दर्भमा अभिव्यक्ति सहित सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेशका १४ वटै जिल्लाबाट ३ हजारभन्दा बढी सङ्ख्यामा युवाहरूले आफ्नो सक्रिय सहभागिता जनाएका थिए ।

युवा आन्दोलनमा उज्ज्वल नक्षत्रका रूपमा हेरिएका बच्चन बहादुर सिंह, पर्शुराम बस्नेत, राजु कार्की, उर्मिला सुनुवार, रोशन बस्नेत, भास्कर खनाल, नृपेन्द्र महतलगायत युवा नेतृत्वले खबरदारी–सभालाई सम्बोधन गर्नुभएको थियो ।


सम्बन्धित खवर