नेपाल पत्रकार महासङ्घ धनुषाको ११औँ साधारणसभा सम्पन्न

नेपाल पत्रकार महासङ्घ धनुषाको ११औँ साधारणसभा सम्पन्न

धनुषा, नेपाल पत्रकार महासङ्घ धनुषाको ११ औँ साधारणसभा शनिबार जनकपुरधाममा सम्पन्न भएको छ ।

विभिन्न समसामयिक तथा सार्वजनिक महत्वको प्रस्ताव पारित गर्दै महासङ्घको साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटन सत्रमा प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले जनकपुरको पत्रकारिताको इतिहास निक्कै गौरवपूर्ण भएको उल्लेख गर्दै यसलाई अहिलेको यूवा पुस्ताले अगाडी बढाएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले नयाँ पत्रकारमध्ये केही पत्रकारमा चाकडी प्रवृत्ति बढ्नु दुःखद भएको बताउँदै जनताको पक्षमा निष्पक्ष, सत्य तथ्य समाचार सम्प्रेषण गर्नका लागि आग्रह पनि गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव शीतलप्रसाद महतोले नेपाल पत्रकार महासङ्घको इतिहासमा अब हुने महाधिवेशनवाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत पदाधिकारीको चुनाव हुन लागेको जानकरी दिनुभयो । महासङ्घका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले पत्रकारिता क्षेत्रमा आएको चुनौतीको सामना गर्नका लागि महासङ्घले कामकाज गरिरहेको बताउँदै कोरोनाका कारणले धेरै पत्रकारलाई सञ्चार संस्थाले अवकाश दिने काम गरेको र त्यस्ता पत्रकारलाई पुनः स्थापित गर्नका गृहकार्य गरिरहेको बताउनुभयो ।

सभामा महासङ्घ धनुषाका सचिव पुरन साहले पेश गर्नुभएको साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष अवधेश कामतले पेश गर्नुभएको लेखा परीक्षण प्रतिवेदन सभाले पारित गरेको छ ।

सम्बन्धित खवर