हलेसी तुवाचुङका महिलालाई कम्प्युटर तालिम

हलेसी तुवाचुङका महिलालाई कम्प्युटर तालिम

खाेटाङ, क्षमता अभिवृद्धिका लागि हलेसी तुवाचुङ नगरपालिकाले महिलालाई कम्प्युटर सञ्चालनसम्बन्धी तालिम दिएको छ । समयानुसार महिलाको क्षमता अभिवृद्धिका लागि वडा नं १० अर्खौलेका ६४ महिलालाई तीनमहिने आधारभूत कम्प्युटर तालिम दिइएको हो ।

अधिकांश महिला लक्षित बजेटलाई सिलाइ÷कटाइ, बुनाइजस्ता तालिममा सिध्याउने गरिएकामा अर्खौलेका महिलालाई आधारभूत कम्युटर तालिम दिइएको नगरपालिकाका उपप्रमुख विमला राईले बताउनुभयो । कम्युटरसम्बन्धी महिलाको क्षमता र दक्षता अभिवृद्धिका लागि महिला लक्षित कार्यक्रमअन्तर्गत गत असार १३ गते उद्घाटन गरिएको कम्प्युटर तालिम बिहीबार समापन गरिएको छ ।

महिलाका लागि विनियोजित रु चार लाखमध्ये दुई लाखमा चार वटा कम्युटर र एक थान ल्यापटप खरिद गरेर तालिमको आयोजना गरिएको थियो । हाल सबैका लागि अनिवार्य बनिसकेको कम्युटर तालिममा सहभागी हुन पाउँदा घाँस दाउरा र चुलोचौकामा सीमित महिला उत्साहित बनेका छन् ।

उनीहरुले कम्प्युटर अन गर्नेदेखि फोल्डर बनाएर नेपाली र अङ्ग्रेजी भाषामा टाइप गर्न सक्ने दक्षता हासिल गरेका छन् । कम्प्युटर सिक्नका लागि कतिपय महिला घरको काम छाडेर तालिम कक्षमा आउने गरेका थिए । ‘महिलालाई सधैँ सिलाइ/कटाइजस्ता तालिम दिने गरिएको तर, नयाँ–नयाँ प्रविधिका बारेमा पनि ज्ञान दिनुपर्छ भनेर कम्प्युटर तालिमको आयोजना गरिएको उपप्रमुख राईले बताउनुभयो । केही समयपछि स्थापना हुने महिला सहकारी सञ्चालनका क्रममा पनि कम्युटरसम्बन्धी सीपले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको उपप्रमुख राईले जानकारी दिनुभयो । रासस

सम्बन्धित खवर