हिंसाविरूद्धका अभियान बर्षभरि चल्ने

हिंसाविरूद्धका अभियान बर्षभरि चल्ने

भूमिप्रसाद पाठक, पथरी

मोरङको बेलबारी नपाले नगरमा लैङ्गिक हिंसा निवारणसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका र न्यायिक समितिको आयोजनामा भएको उक्त कार्यक्रम– महिला जनप्रतिनिधिहरूलाई हरेक वडा–वडामा अभियन्ताको रूपमा काम गर्न अभिप्रेरित तुल्याउने उद्देश्यले आयोजना गरिएको उपप्रमुख एवं न्यायिक समिति संयोजक ढाका पराजुलीले बताइन् ।

कार्यक्रमका लागि प्रमुख अतिथि प्रदेश नं १ की सांसद यशोदा अधिकारीले महिला हिंसा अन्त्यका निम्ति महिलामात्र सचेत भएर नपुग्ने भएकोले हरेक काममा अनिवार्य संलग्न रहने सिङ्गो समाज यसतर्फ लाग्नुपर्ने र कानुन कार्यान्वयनमा गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुपर्ने बताइन् ।

विशिष्ट अतिथि मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले महिला हिंसा अन्त्यका निम्ति घर–घरबाटै परिवर्तन सुरू गर्नुपर्ने भन्दै जन्मदर्ता, विवाहदर्ता, नागरिकता प्राप्तिजस्ता विषयमा पनि पुरूषका तुलनामा महिला नै विभेदमा परेको र आफूले सकेसम्म सहजीकरण गरिरहेको र गरिरहने बताए ।

कार्यक्रममा अधिवक्ता रूक्मिणा दाहालले कानुनका विषयमा प्रस्तुतिकरण गरेकी थिइन् । उपलब्धीका हिसावले लिखतमा धेरै कुराहरू छन् । लिखतमा जे–जे भए पनि कार्यान्वयनमा आधा पनि नआएकोले कोल्टो फेरे पनि समाजले फड्को मार्न नसकेको बताइन् ।

समाजमा महिलाहरू बलात्कारजस्ता जघन्य अपराधबाट पीडित भइ न्यायका लागि गुहार माग्दा उल्टो महिलालाई नै गलत र दोषी देख्ने सामाजिक परिवेश अहिले पनि जीवित छ । हरेक क्षेत्रमा महिलाहरूको समान पहुँच सुनिश्चितता नभएसम्म महिला हिंसामुक्त समाजको कल्पना गर्न सकिँदैन । अझै यहाँको समाज परम्परागत कुसंस्कारले जकडिएको छ । केही महिलाहरूको राजनीतिक, आर्थिक तथा सामाजिकस्तर उठेको भएपनि आम महिला हिंसाग्रस्त जीवन व्यतीत गर्न बाध्य छन् । विभेदलाई समाजले निर्माण गरेको हो । प्रकृतिले बनाएको भेदको फेरो समाएर विभेद सिर्जना गरिनु मानवविरूद्धको कार्य हो । हामीले व्यवस्था परिवर्तन गरेका छौँ । यतिले मात्र पुगेन अझ अवस्था र व्यवहार परिवर्तन गर्न बाँकी छ । अब त्यसका लागि बर्षमा एकदिन होइन, बर्षभरि नै हिंसाविरूद्धका अभियान सञ्चालन गर्छौं कार्यक्रमका दौरान उपप्रमुख पराजुलीले भनिन् ।

कार्यक्रममा बेलबारीका सामाजिक अभियन्ता, महिला उद्यमी एवं अभियन्ता र एक दर्जनभन्दा बढी पत्रकारहरूलाई हिंसाविरूद्धको अभियानमा पत्रकारिताको माध्यमबाट सहयोग मात्र होइन, उत्कृष्ट योगदान गरेकोमा सम्मान गरिएको थियो ।

सम्बन्धित खवर