पथरी, मोरङको पथरी शनिश्चरे १ स्थित यलम्बर चोकमा रहेको एक पसलबाट विक्री भएको बासमती चामलमा मरेको मुसा र औषधि मिसिएको अवस्थामा फेला परेको छ ।
पथरी शनिश्चरे २ छयालिसविघे स्थित हस्तबहादुर जैराई दर्जीका छोरा श्यामको आज विवाहका लागि अटल किराना पसलबाट लगिएको चामलका ४ वटा बोरामा त्यस प्रकारको अखाद्य बस्तु फेला परेको हो ।
जय हिन्द राइस ट्रेडर्स अलिपुर दिल्ली भारतबाट उत्पादित र प्याकिङ गरिएको फर टु फर बास्मति राइस नामक बास्मति चामलको २५ किलोग्रामका दरका ४ बोरा चामलमा त्यस्तो समस्या देखिएको थियो । ४ बोरामा प्रति पोका १, १ वटा औषधी जस्तो देखिने झुम्रोमा रहेको बस्तु र त्यसमध्येको एउटा बोरामा मरेको मुसा फेला परेको थियो ।
प्याकिङ गरिएको २४ महिनासम्म प्रयोग हुन उचित हुने समेत लेखिएको बोरा सन् २०१८ मा प्याकिङ गरिएको देख्न सकिन्छ । यस अनुसार ३ वर्ष अघिको प्याकिङ भएको बुझिन्छ । यसका साथै बोराको माथिल्लो भागमा रहने दोहोरो धागोको प्याकिङ खोलेर त्यसको केही मुनी एकसरो धागोले सिलाएको बोरा देखिएपछि थप आशंका पैदा भएको छ ।
नगर प्रवक्ता एवम् वडा नम्बर २ का अध्यक्ष यामप्रसाद गुरागाईले र वडा सदस्य अग्नीप्रसाद गुरुङ सहितको टोलीले चामल अखाद्य अवस्था फेला परेको जानकारी पाएपछि आज विहानै त्यहाँ पुगी अनुगमन् गरेको थियो । सो अवस्थाका बारेमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतलाई जानकारी गराई संघले आवश्यक छानविन गर्नका लागि अखाद्य अवस्थाका चामलका बोरा समेत बुझाइएको छ ।
चामल विक्रेता पक्षले भने कम्पनीबाटै प्याकिङ गरेर आएकाले त्यसबारे आफुलाई केही थाहा नभएको बताएको छ । आफुले कम्पनीसँग सम्पर्क गर्दा घुन लाग्न नदिन औषधि राखिएको तर मुसाका सम्बन्धमा थाहा नभएको जवाफ आएको संघका अध्यक्ष बस्नेतले जनाउनु भयो । सो सम्वन्धमा आवश्यक छानविन गरिने उहाँले बताउनु भयो ।