६ महिना अगाडी जडान गरिएका भेन्टिलेटर अझै प्रयोग बिहिन

६ महिना अगाडी जडान गरिएका भेन्टिलेटर अझै प्रयोग बिहिन

उदयपुर, जिल्ला अस्पताल उदयपुरमा छ महिनाअघि जडान गरिएको दुईवटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेका छन् । स्वास्थ्य मन्त्रालयको बजेटमा जडान गरिएको भए पनि यसलाई सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटरको प्रयोग हुन नसकेको हो ।

जिल्ला अस्पतालका प्रमुख डा जीवनारायण मण्डलका अनुसार आकस्मिक कक्षका सास फेर्न गाह्रो हुने र सघन उपचार कक्षमा राख्नुपर्ने बिरामीको लागि पहिलोपटक गत असारमा जिल्ला अस्पतालमा ती भेन्टिलेटर जडान गरिएको हो । “यसलाई सञ्चालन गर्ने जनशक्तिको व्यवस्थापन नहुँदा भेन्टिलेटर प्रयोगविहीन बन्न पुगेका हुन्”, उहाँले भन्नुभयो । भेन्टिलेटर प्रयोगमा नआउँदा आकस्मिक कक्षका बिरामी बाध्य भएर जिल्ला बाहिर रिफर गर्न परेको डा मण्डल बताउनुहुन्छ ।

अस्पताल विकास समितिका सदस्य महेश रोकाले भेन्टिलेटर सञ्चालन गर्ने प्राविधिक जनशक्ति उपलब्ध वा व्यवस्थापनका लागि पुनः सङ्घीय र प्रदेश सरकारसँग पटकपटक अनुरोध गरेको तर अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ । त्रियुगा नगरपालिका– ३ मोतिगडाका समाजसेवी ज्ञानबहादुर बस्नेत भन्नुहुन्छ, “ प्राविधिक जनशक्ति व्यवस्थापन नहुँदा जिल्लाका बासिन्दाले गम्भीर अवस्थाको उपचार सेवा लिन अहिले पनि लाखौँ खर्च गरेर जिल्ला बाहिर जान बाध्य हुँदै आएका छन् ।” रासस

सम्बन्धित खवर