पाेखरा : पोखरा महानगर प्रमुख मानबहादुर जिसीले विकास निर्माणमा राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।
नागरिक परोपकार समन्वय संस्था कास्कीले शववाहन खरिदका लागि सञ्चालित अर्थ संकलन अभियानअन्तर्गत सातौं श्रृङ्खलाको शनिवार तालचोकमा भएको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
जिसीले शवबाहन खरिदका लागि संस्थाको योजना सफल पार्न महानगरले अभिभावकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सामाजिक संघसंस्थामा राजनीतिको लेस देखिन नहुने बताए ।
शनिबारको कार्यक्रमबाट ३ लाख ७२ हजार रुपैयाँ संकलन भएको संस्थाले जनाएको छ । हालसम्म करिब १८ लाख बराबरको आर्थिक सहयोग संकलन भइसकेको आर्थिक संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरी, संस्थाका सल्लाहकार धु्रवनाथ अधिकारी लगायतले विपत्मा परेकालाई नाम अनुसारको पुण्य काम गरेर देखाउनु पर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रामराज अधिकारी र धन्यवाद ज्ञापन वडाध्यक्ष श्रीराम पोखरेलले गरेका थिए ।