इलाममा अरनिको सङ्ग्रहालय निर्माण

इलाममा अरनिको सङ्ग्रहालय निर्माण

इलाम, इतिहासको संरक्षण तथा सम्वद्र्धन गर्न इलाम नगरपालिकाले सङ्ग्रहालय निर्माण गरेको छ । नगरपालिकाले सय वर्षभन्दा पुरानो राणाकालीन दरबारलाई अरनिको सङ्ग्रहालय बनाएको हो ।

जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा सङ्ग्रहालय बनाइएको हो । लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरण, बाजागाजा, विभिन्न जातिका वेषभूषा र भाडावर्तन लगायतका सामग्री राखिएको छ ।

पुुर्खाले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, गरियो, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजा जस्ता वस्तुलाई सङ्ग्रहालयमा राखिएको छ । जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवारलगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, वेषभूषालाई पनि सङ्ग्रहित गर्ने नगर साहित्य प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले जानकारी दिनुुभयो ।

उहाँका अनुसार भवनमा २२ वटा कोठा छन् । कोठामा जातीय संस्कृतिका सामग्री राखिएको थियो । लोपोन्मुुख सामग्री ल्याएर राख्ने काम भइरहेको छ । सङ्ग्रलायको प्राङ्गणमा पञ्चेबाजाका मुर्ति राख्ने काम पनि भएको छ । सङ्ग्रहालयमा आउने पर्यटकले नगरपालिकाका पर्यटकीयस्थलको पनि जानकारी पाउनेछन् । तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा इलाममा वडाहाकिम भएर आएका उहाँका ज्वाइँ गजराजसिंह थापाको कार्यकालमा दरबार बनेको बताइएको छ । उनीले १९१९ सालदेखि १९४२ सम्म जिल्लाको प्रशासन सम्हालेका थिए । दरबार १९२० को दशकमा बनेको इतिहासकार बताउँछन् ।

अरनिकोको शालिक अनावरण

कलाकार एवं नेपालका राष्ट्रिय विभूुति अरनिकोको शालिक अनावरण गरिएको छ । इलाम नगरपालिका– ७ मा रहेको अरनिको सङ्ग्रहालयको प्राङ्गणमा निर्माण गरिएको शालिक अनावरण गरिएको हो ।

शालिक अनावरण गर्दै इलाम नगर प्रमुख महेश बस्नेतले इतिहास संरक्षणमा नगरपालिकाले प्राथमिता दिएको बताउनुभयो । रासस

 

सम्बन्धित खवर