राजेन्द्र महतो, लहान
२९ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सिरहामा सामुदायिक सुरक्षा सम्वन्धी समुदाय–प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
२५ नोभेम्बरबाट शुरू भएको लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ब्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मूल नारा सहित शुरू भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तरगत सामुदायिक सुरक्षा सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सिरहा नगरपालिका ७ स्थित बालमन्दिर माध्यमिक विद्यालयको साभाहलमा सम्पन्न भएको हो ।
युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जनउत्थान केन्द्र लहान द्वारा संचालित सहज परियोजना अन्तर्गत समग्रको सहकार्यमा सिरहा युथ नेपाल नामक स्थानीय युवा क्लव र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त आयोजना उक्त कार्यक्रम सम्पन्न भएको युथ क्लवका उपाध्यक्ष शशि कुमार मण्डलले जानकारी दिनु भयो ।
उपध्यक्ष मण्डलका अनुसार सिरहा नगरपालिका ७ वडा अध्यक्ष उपेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा किशोर–किशोरी समूह, बाल क्लब, शिक्षक र समुदाय प्रहरी साझेदारी वडा स्तरीय समितिका पदाधिकारी लगायतका व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक रामचन्द्र साहले लैंगिक हिंसा, बाल बिवाह, दाइजो प्रथा, जातिय छुवाछुत तथा भेदभाव, बहुविवाह बिरुद्धको सचेतना तथा कानुनी प्रावधान र सामुदायिक सुरक्षा सम्बन्धी प्रहरीको भूमिका लगायतका विषयमा सहजीकरण गर्नुका साथै सिरहा जिल्लाको शान्ति सुरक्षाको अवस्था सम्वन्धी समेत जानकारी गराउनु भएका थिए ।