कानेपोखरीमा मस्जित उद्घाटन

कानेपोखरीमा मस्जित उद्घाटन

सनम रोक्का, कानेपोखरी

मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ३ स्थित हरकपुरमा पहिलो पटक निर्माण भएको मुस्लिम धर्मावलम्बीहरुको धार्मिक संगम स्थल मस्जिद अल तकुवाको विधिवत समुद्धघाटन भएको छ। नवनिर्मित भवनको शनिबार नेपाली काङ्ग्रेस जिल्ला सभापति एवम संविधान सभा सदस्य डिगबहादुर लिम्बुले रिवन काटी समुद्धघाटन गरेका थिए।

साउदी अरबका नागरिक महमद अब्दुलको करिब १५ लाखको लगानीमा मस्जिद अल तकुवाको निर्माण भएको हो । सो निर्माण कार्य २०७६ कार्तिक महिनाबाट सुरु गरिएको मस्जिद निर्माणका लागि ठेक्का लिएका ठेकेदार महमद मुर्तजाले बताए। वडा नम्बर ३ मा १० घर, २ मा ५ घर, ४ मा १ घर र १ नम्बर वडामा ९ घर गरि जम्मा २५ घर मुस्लिम समुदायका घरहरु रहेका छन् ।

कानेपोखरी गाउँपालिकाभरीमै मुस्लिम समुदायको बसोबास ज्यादै न्युन रहेका कारणले पनि यस पालिकामा मस्जिद बन्न सकिरहेको थिएन तर हाल आएर विदेशी लगानिबाट सो मस्जिदको निर्माण गरिएको हो। सोही कारणले पनि यस क्षेत्रमा बनेको मस्जिद अल तकुवा एक आर्कषणको केन्द्रबिन्दु बनेको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु विभिन्न समाजसेवी व्यक्तित्वहरु लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सबै धर्मको आशय एउटै हुने भएकाले धर्म धर्मका बिचमा आपसी सद्धभाव भएमात्र समाजको द्रुत विकास हुने धारणा राखेका थिए।

सम्बन्धित खवर