कोइराला परिवारमा बज्रपात, एक दिनको अन्तरमा दाजु–भाइको मृत्यु

कोइराला परिवारमा बज्रपात, एक दिनको अन्तरमा दाजु–भाइको मृत्यु

एक दिनको अन्तरमा दाजु–भाइको मृत्यु भएपछि कोइराला परिवारमा बज्रपात परेको छ । मोरङको लेटाङ नगरपालिका २ का ७० वर्षीय दाजु गोपाल कोइराला र ६३ वर्षीय भाइ ईश्वरीप्रसाद कोइरालाको एकदिनको अन्तरमा मृत्यु भएको हो ।

कोरोना भाइरस पुष्टि भएपछि दाजुभाइ नै नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत थिए । आइसोलेसनमा उपचाररत रहेका दाजु गोपालको बिहिबार बिहान मृत्यु भएको थियो । उपचाररत रहेका भाइ इश्वरीको पनि शुक्रबार (आज) बिहान ११ बजे मृत्यु भएको हो । इश्वरीको कोरोना रिपोर्ट भने नेगेटिभ रहेको थियो ।

कोरोना पुष्टि भएपछि गोपाललाई मंसिर ९ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । भाइ इश्वरीलाई पनि मंसिर २ गते अस्पताल भर्ना गरिएको थियो । उनिहरुको सुरुको रिपोर्ट कोरोना पोजेटिभ आएकाले आइसोलेसनमा राखेर उपचार भइरहेको अवस्थामा निधन भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

गोपाल लेटाङमै किराना पसल सञ्चालन गरेर बसेका थिए । पछिल्लो समय श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या भएपछि गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका गोपाललाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

दाजु गोपालको मृत्यु भएको भोलिपल्ट ज्यान गुमाएका भाइ ईश्वरी नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी कांग्रेस मोरङ क्षेत्र नम्बर १ ‘ख’ का सभापति थिए । साथै प्रदेशसभा निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसबाट उम्मेदवार समेत बनेका थिए ।

नेता कोइरालालाई अन्तिम श्रदाञ्जलीका लागि कांग्रेसका नेता एवं उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, पार्टीका जिल्ला सचिव मोदराज घिमिरेलगायतका नेता कार्यकर्ता लेटाङ पुगेका थिए । कोइरालाको लेटाङकै चिसाङ खोलामा अन्त्येष्टि गरिएको छ ।

सम्बन्धित खवर