हसन्दहमा प्रहरी पोष्ट उद्घाटन्

हसन्दहमा प्रहरी पोष्ट उद्घाटन्

पथरी, मोरङको पथरी शनिश्चरे ६ हसन्दहमा आज अस्थाई प्रहरी पोष्टको उद्घाटन् भएको छ । पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी कार्यालय प्रमुख सन्तोष खड्का र नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले संयुक्त रुपमा प्रहरी पोष्टको उद्घाटन् गर्नुभएको हो ।

नगरको दक्षिणी भूभागका रुपमा रहेको ५ र ६ नम्वर वडामा पर्ने हसन्दह क्षेत्रको सुरक्षाका लागि सो पोष्टले सहजता प्रदान गर्ने उहाँहरुले मन्तव्य व्यक्त गर्नुभयो ।

स्थानीय समाजसेवी बलबहादुर निरौलाले प्रहरी पोष्टका लागि तात्कालिन अवस्थामा ५ कठ्ठा २ धुर जग्गा दान गर्नुभएपछि १० वर्ष अघि हसन्दह गाविसले भवन निर्माण गरेको थियो । तर त्यहाँ आवश्यक प्रहरी दरवन्दी व्यवस्थापन नहुँदा भवन मात्र रहेको अवस्थामा नगरपालिका र प्रहरी निकायको लगातारको ताकेतापछि ०७७ मंसिर ४ गते अस्थाई प्रहरी पोष्ट स्वीकृत भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीपकुमार गिरीले जनाउनु भयो । त्यसपछि जुनियर प्रहरी अधिकृत ( एसआई) को कमाण्डमा १० जना सुरक्षाकर्मीको व्यवस्थापन गरिएको उहाँले उल्लेख गर्नुभयो ।


५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको अध्यक्षता ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङले गर्नुभएको थियो ।

नगर क्षेत्रमा डीएसपीको कमाण्डको इलाका प्रहरी कार्यालय, एउटा प्रहरी चौकी, २ वटा शसस्त्र बेस क्याम्प, एउटा नेपाल प्रहरीको बेस क्याम्प रहेको अवस्थामा हसन्दहमा समेत प्रहरी पोष्ट खडा भएपछि सुरक्षा व्यवस्थापनका हिसावले नगर क्षेत्रमा सहजता हुने देखिएको छ ।

सम्बन्धित खवर