पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको आजको कार्यपालिका बैठकले रेलमार्गमा पर्ने जग्गाको अधिकतम मुआब्जा दिलाउन पहल गर्ने निर्णय गरेको छ । नगरभित्र पर्ने रेलमार्गमा जग्गा परेका जग्गा धनिहरुलाई अधिकतम मुआब्जा दिलाउनका लागि नगरले समन्वय गर्ने निर्णय भएको नगर प्रवक्ता याम प्रसाद गुरागाँईले बताउनुभयो ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले यही मंसिर १५ गते नगर अस्पतालका लागि निर्माण हुने भवनको शिलान्यास गर्ने र अस्पतालका लागि आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्ने निर्णय गरेको गुरागाईंले जनाउनु भयो ।
यसैगरी बैठकले शैक्षिक संस्था सञ्चालनका लागि शिक्षा शाखामार्फत सम्वन्धित विद्यालयहरुसँग छलफल गर्ने र भूमि आयोगले नगरपालिकामा काम थाल्ने सम्वन्धमा नगरले आवश्यक व्यवस्थापनको तयारी गर्ने समेत निर्णय गरेको छ ।
हुलाकी सडक कार्यालय अन्तर्गत मनमोहन गान्धी मार्गको सडक विस्तार र निर्माण सम्वन्धमा विवाद उन्पन्न भएकाले सम्वन्धित पक्षसँग छलफल गर्ने तथा नगरपालिका मातहत पेट्रोल पम्प निर्माणका लागि जग्गा व्यवस्थापनको पहल गर्ने पनि निर्णय गरिएको छ ।
बाँकी रहेका विषयमा पुनः भोली कार्यपालिका बैठक बस्ने भएको छ ।