पोखरामा ‘राजा आउ, देश बचाउ’ नारा घन्कियो

पोखरामा ‘राजा आउ, देश बचाउ’ नारा घन्कियो

पोखरा : गणतन्त्रले देश नै बेच्न लागेको भन्दै हजारौं युवाहरु बुधबार पोखरामा ‘राजतन्त्र जिन्दावाद’ को नारा लगाउँदै सडकमा निस्किएका छन् । अब राष्ट्र र राष्ट्रियता जोगाउन देशमा राजसंस्था आवश्यक रहेको भन्दै युवाहरु सडकमा उत्रिएका हुन् ।

हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै कोरोनाको कहरमा आफ्नो ज्यानको प्रवाह नगरी हजारौं युवाहरु सडकमा उत्रिएका थिए ।

उक्त अवसरमा ‘राजा लेराऔं देश बचाऔं’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, ‘गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाएका थिए । र्यालीमा सहभागी प्रत्येक सवारी साधनमा नेपालको राष्ट्रिय झण्डा, पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहको तस्वीर टाँसिएका थिए ।

केही दिन अगाडिदेखि देशव्यापी रूपमा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा र्याली तथा आमसभा हुँदै आईरहेको बेला आज पोखरामा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा विशाल मोटरसाइकल र्याली निकालिएको हो । राजासंस्था फर्काउन माग गर्दै समर्थकले पोखरामा मोटरसाइकल र्याली निकालेका हुन् ।

कास्कीका साथै स्याङ्जा, तनहूँ, पर्वत, लमजुङ लगायत विभिन्न स्थानका नागरिकहरु पश्चिमाञ्चलवासी नेपाली जनता नामक र्यालीमा सहभागी हुन आएका थिए ।

पोखराको अमरसिंहचोकमा पञ्चेबाजासहित हजारौँको संख्यामा सहभागीले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ ‘गणतन्त्र खारेज गर आदि विषयका नारा लगाएका थिए ।

प्रहरीको कडा सुरक्षाको घेराबाट निस्किएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, हलनचोक, सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगास्थित मानवअधिकारचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्यालीका कारण पोखराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । जसले ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।

राजनीतिक अस्थिरता बढेपछि जनतामा राजतन्त्र नै ठीक हो भन्ने विश्वास देखिएको छ भने विगतका केही दिनदेखि देशका विभिन्न ठाउँहरुमा राजा र राजतन्त्रको समर्थनमा र्याली जुलुस निकालिंदै आइएको छ ।

सम्बन्धित खवर