मङ्सिर १५ देखि पठनपाठन सुचारु गर्ने

मङ्सिर १५ देखि पठनपाठन सुचारु गर्ने

पथरी, मोरङका दक्षिणी भेगका पालिकामा मंसिर १५ गते देखि पठनपाठन सुचारु गर्ने निर्णय भएको छ । मंगलबार बसेको पालिका स्तरीय बैठकले मंसिर १५ देखि विद्यालयमा पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो ।

मोरङको रतुवामाई, सुनवर्षी, रंगेली नगरपालिका, धनपालथान, जहदा र कटहरी गाउँपालिकाको संयुक्त बैठकले विद्यालय खुलाउने निर्णय गरेको हो । बैठकमा नगरप्रमुख, गाउँपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका अधिकृतहरु सहभागी थिए । बैठकले प्रत्येक विद्यालयले विद्यार्थी, शिक्षक, कर्मचारी सबैले अनिवार्य साबुन पानीले हात धुने, थर्मल गन मार्फत ज्वरो नाप्ने, विद्यालयहरुले हप्तामा कम्तीमा एकपटक विद्यालय परिसर सेनिटाइज गरेर डिसइन्फेक्टेड गर्ने, १ देखि ५ सम्म सञ्चालित विद्यालयहरुलाई दिवा सत्रमा र कक्षा ६ देखि १२ सम्म सञ्चालित विद्यालयहरुलाई विहानी सत्रमा सञ्चालन गर्ने व्यवस्था गर्ने, कसैलाई पनि कोरोना संक्रमणको लक्षण देखिएमा अनिवार्य १४ दिनको लागि बिदामा बस्न लगाउने र स्वाब टेस्ट गर्ने व्यवस्था मिलाउने निर्णय गरेको सुनवर्षी नगरपालिकाका मेयर कालिप्रसाद दासले बताउनुभयाे ।

बैठकले नेपाल सरकारले पाठ्यक्रम विकास केन्द्रद्वारा जारी गरिएको समायोजित पाठयक्रमलाई नै लागु गरी पठनपाठन सञ्चालन गर्ने, विद्यालयले अनिवार्य विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकको बैठक बसी अनिवार्य अभिभावकहरुबाट विद्यालय सञ्चालनका लागि सहजीकरण गर्ने प्रतिबद्धता गर्न लगाउने र सो को जिम्मेबारी सबै पक्षले लिने, प्रत्येक सामुदायिक, धार्मिक र संस्थागत विद्यालयहरुलाई थर्मल गन र यस बाहेक अन्य सामग्रीहरु सामुदायिक र धार्मिक विद्यालयहरुलाई सम्बन्धित पालिकाले दिने व्यवस्था गर्ने, हरेक १५ दिनमा गरिएका निर्णयहरु कार्यान्वयन भए नभएको अनुगमन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर