बर्दिबास, बर्दिबास घटनामा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको छ । प्रदर्शनका क्रममा घाइते भएका महोत्तरीको बर्दिबास नगरपालिका–१ का ४५ वर्षका न्यौपानेको मृत्यु भएको हो। न्यौपानेको उपचारका क्रममा मध्यरातमा १२ बजेर ४ मिनेटमा मृत्यु भएको ग्रान्डी इन्टरनेशनल हस्पिटलका प्रबन्ध निर्देशक विकासमान सिंहले बताएका छन्।
महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिका गुलाव शाह खातुनको हत्यामा सलग्नलाई कारबाहीको मागसहित हिजो बर्दिबास तनावग्रस्त बनेको थियो । प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले चलाएको गोली लागेर न्यौपाने घाइते भएका थिए । न्यौपानेको कम्मरमुनिको भागमा गोली लागेको थियो।
न्यौपाने सहित बर्दिबासकै श्याम कार्कीलाई पनि गोली लागेको थियो । न्यौपाने र कार्कीको बर्दिबासमा उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको थियो । कार्कीको काठमाडौंमै उपचार भइरहेको छ ।
६ वर्षीया बालिकाको बलत्कार पछि हत्या भएको बिषयमा न्याएको माग गर्दै महोत्तरी जिल्लाको बर्दिबासका स्थानीयबासी प्रदर्शनमा उत्रिएका थिए। पूर्व–पश्चिम राजमार्ग र वीपी राजमार्ग अवरुद्ध गरेर सर्वसाधारणले प्रदर्शन गरेका थिए ।
सोही प्रदर्शनका क्रममा डिएसपीसहित १५ जना प्रहरी घाइते भएका छन् । भीड नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश बिष्टसहित १५ जना प्रहरी घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ । डिएसपी बिष्टको मुखमा ढुंगाले लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको हो। अन्य प्रहरीको पनि शरीरका विभिन्न भागमा चोट लागेको छ ।