पोखरा : गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा र कुमार खड्काले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ०७७/०७८ का योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले कास्की निर्वाचन क्षेत्र नं. २ ‘ख’ का लागि योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
सांसदद्धय थापा र खड्काले सार्वजनिक गरेका योजना तथा कार्यक्रमहरु एक करोड ४५ लाख ६८ हजार रुपैयाँको छ । कार्यक्रममध्ये पोखरा १६ मा आठ वटा योजनाका लागि बजेट छ्ट्याइएको छ । यस्तै पोखरा ४ मा तीन, पोखरा २० मा दुई, पोखरा ९ मा दुई, पोखरा ८ र ११ मा एक-एक योजना परेका छन् ।
कार्यक्रमहरुमध्ये पोखरा ९ को बुद्ध मार्गमा नालीसहित बाटो निर्माणका लागि २५ लाख, पोखरा ९ कै दरवारथोक चोकबाट महेन्द्र माविसम्म्को बाटो निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।
यसैगरी पोखरा २० को झोलुंगे पुलदेखि स्यानीपाटनसम्म नालीसहित बाटो निर्माण र खरिकुनादेखि राधाकृष्ण मन्दिरसम्म पदमार्ग बनाउन १२ लाख, पोखरा ११ स्थित शिवशक्ति माविमा कम्यूटर खरिद र सन्तानेश्वर शिव मन्दिरमा वाचनालय निर्माणका लागि पाँच लाख रुपैयाँ छुट्याइएको सांसद थापाले जानकारी दिए ।
सांसद थापाका अनुसार पोखरा ४ स्थित नवीन माविमा कम्यूटर, प्राविधिक सामाग्री, वाद्य सामाग्री र अन्य सामग्री खरिद, पोखरा ४ कै कालिमाटी मार्गमा नाला तथा स्ल्याब निर्माण र सडक बत्ती जडान र पोखरा १६ मा कीरियायापुत्री भवन निर्माण, गन्धर्व टोल र सिमलखोरी, चण्डिका टोल गैह्राबारी जाने बाटो निर्माणका लागि पाँच पाँच लाख रुपैयाँ छुट्याइएको छ ।
पोखरा ४ कै बौद्धिक अपाङ्गता दिवा सेवा केन्द्रका लागि ल्यापटप, प्रिन्टर, फर्निचर, साउण्ड सिस्टम लगायत अन्य सामाग्री खरिद गर्न चार लाख रुपैयाँ छुट्याइएको छ ।
यस्तै, पोखरा ८ स्थित सरस्वती मन्दिर तथा बहुउद्देश्यीय सामाजिक भवन निर्माणका लागि ३१ लाख रुपैयाँ छ्ट्याइएको छ । यो सबैभन्दा धेरै रकम विनियोजन गरिएको योजना हो । पोखरा १६ स्थित गैह्राबारी आमा समूहको भवनमा शौचालय निर्माणका लागि दुई लाख र महावीर कृषि मार्ग कुर तथा ऐतिहासिक कुवा चौतारी पुर्नर्निर्माणका लागि ६ लाख रुपैयाँ छुट्याइएको छ ।
यसैगरी पोखरा १६ को सरस्वती अम्विका मन्दिर, आत्मज्ञान केन्द्रको पुननिर्माण गर्न पाँच लाख ७५ हजार, बडहरबोट कृषि मार्ग संरक्षण एवं निर्माणका लागि तीन लाख, कम्पोष्ट मल निर्माण, सरसफाई कार्यक्रम, राजपँधेराका लागि तीन लाख २५ हजार, कुँवर घाटीपाटन चौतारी पुननिर्माणका लागि पाँच लाख र डाँडाथोक टोल सुधार समितिका लागि ल्यापटप, फर्निचर, उर्जा र अन्य सामाग्री खरिद तथा चण्डिका प्राविका लागि शैक्षिक सामग्री खरिद गर्न पाँच लाख ५० हजार रुपैयाँ छुट्याइएको सांसद खड्काले बताए ।
यसैगरी पोखरा २० को पिपलडाली ऐतिहाँसीक कुवा र पर्खाल निर्माण गर्न दुई लाख २५ हजार र सिँचाई डिभिजन कार्यालयमार्फत तारजाली, खानेपानी सिँचाईको पाईप खरिदका लागि १० लाख ९३ हजार रुपैयाँ छुट्याइएको छ ।
यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ८ करोड ८५ लाख रुपैयाँ विनियोजन भएको छ । यसमध्ये नारायणस्थान पुल-भलाम खोला पुल-चण्डीपाटन-देउराली-हरिहर गुफा हुँदै डाडाँगाउँ-कुरगाउँ अर्मला सडक योजनाका लागि पाँच करोड रुपैयाँ रहेको छ ।
सांसदद्वयद्वारा सार्वजनिक हिसाबमा सिंचाई र तटबन्धका लागि २ करोड रुपैयाभन्दा बढी छुट्याईएको छ । विभिन्न खानेपानीका योजना सम्पन्न गर्न यस वर्षमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
निर्वाचन क्षेत्र अन्तर्गत पुल निर्माणका तीन योजना तय भएको उल्लेख छ । सामाजिक विकास मन्त्रालयमार्फत छुट्याइएको कुल ६१ लाख ५० हजार रुपैयाँमध्ये खस आर्य संग्रहालय नयाँबजारका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ भने राम आधारभूत र महेन्द्र माध्यमिक विद्यालयका लागि एक-एक लाख रुपैयाँ छुट्याईएको छ ।