पहिले जस्तो रौनक छैन् छठमा

पहिले जस्तो रौनक छैन् छठमा

पथरी, कोरोनाको महामारीका कारण यसवर्षको छठपर्वमा रौनक छाएन । पूर्वी मोरङका डाँस, बक्राहा, पथरी, मरिया बक्राहा र तलाउहरुमा लाग्ने गरेको मेला अहिले सुनशान बनेको छ ।

सुनवर्षी २ अमरदह पश्चिम रहेको मरिया बक्राहामा यस क्षेत्रकै ठुलो छठमेला लाग्ने गरेको थियो तर यसवर्ष सुनसान जतिकै छ । रातभर गीतसंगित र बाजागाजाले भव्य हुने मरिया बक्राहामा यो वर्ष सामान्य पूजा गरेर सबै घर फर्किएको त्यहा स्थित रुपेश उप्रेतीले जानकारी दिएका छन् । मरिया बक्राहामा सामान्य मेलाको तयारी गरिएको र साँझमा नै अर्घ दिइसकेर सबै आ–आफ्नो घर गएको उप्रेतीले जानकारी दिए ।

यस्तै बक्रहा, डाँस, पथरी खोला लगाएतका स्थानहरुको पनि अवस्था उस्तै छ । पथरी, मंगलबारे बजार आसपासमा पनि भव्य पूजा हुने गरेको थियो तर यो वर्ष ति क्षेत्रहरुमा पनि जाग्राम बस्ने कार्यक्रम स्थगित गरिएको छ । उर्लाबारीको बक्राहा खोलमा छेउमा गरिएको तयारी पनि अघिल्लो वर्षभन्दा निकै सामान्य रहेको त्यहाँ स्थित कुमार खड्काले जानकारी दिएका छन् ।

यता पथरी र मंगलबारे बजार आसपासको क्षेत्रमा पनि पूजाका लागि सामान्य तयारी गरिएको भएता पनि अघिल्लो वर्ष झैँ रौनक देखिएको छैन् । सामान्य रुपमा सहभागी भएका श्रदालुहरुले साँझको अर्घ दिइसकेपछि सबै आ–आफ्नो घर फर्केका छन् ।

सरकारले पनि घरघरमा छठ मनाउन अनुरोध गरेपछि कतिपयका घरको आँगनमा नै छठको तयारी गरिएको थियो । भोली विहान उदाउँदो सुर्यलाई अर्घ दिएपछि छठपुजा सम्पन्न हुनेछ ।

सम्बन्धित खवर